सुन्दर परियारको नयाँ थर

October 30, 2016

कथा
सुन्दर परियारको नयाँ थर
अभय श्रेष्ठ


सुन्दर परियार नेपाल आएको १० महिना बित्यो । तर, फर्कने नाम लिइरहेको थिएन ।
अमेरिकाको इडाहो राज्यस्थित पोकाटेलोमा उसको नेपाली सामान पाइने ग्रोसरी राम्ररी चलेको थियो । श्रीमतीलाई त्यो समाल्न भ्याइनभ्याइ थियो । यता, बहिनीको बिहेको केही दिनमै ०७२ साल वैशाख १२ गते नेपालमा ठूलो भूकम्प गयो । त्यसको विनाशलीला देखेर उसको मन भताभुंग भयो । भूकम्पपीडितको उद्धारमा उसले ज्यूज्यान लगाएर सघायो ।
युनिभर्सिटी अफ इडाहोको आडैमा रहेको ग्रोसरीबाट श्रीमती बारम्बार ताकेता गरिरहन्थी । उसले एक महिना, अर्को महिना गर्दागर्दै यत्रो समय बितायो । एकपल्ट त उसले श्रीमतीलाई पनि पसल बेचबिखन गरेर नेपाल फर्कन भनेको थियो । श्रीमतीले सातो लिने गरी हकारी ।
श्रीमती थिई क्षत्रानी कुलकी । बेलाबेला जातको घमण्ड उसको बोलीमा प्रदर्शन हुन्थ्यो । हिजैमात्र त्यसले स्काइपमा उसलाई बेसरी हकारेकी थिई ।
‘अँ, तिमी आउने कि नआउने भन त ?’
‘आउने नि, किन नआउनु ?’
‘अनि किन नमुन्ट्या त ?’
‘गाउँमा यहाँ बेहाल छ । मान्छेलाई बस्ने बास छैन, खानलाई गाँस छैन । यस्तो बेला हाम्ले नसघाए कसले सघाउँछ भन त ? बरु तिमी पनि केही समय यतै आऊ । दुवै जना मिलेर घरबार नभएकालाई सानोतिनो कटेरो बनाइदिउँला ।’
‘अँ..अरू केही भन्नु छ ?’
‘तिमी बाँस समाइदेऊ, म खाल्डो खनुँला । तिमी जस्तापाता समाइदेउ, म किलाकाँटा ठोकौँला । अनि लास्टाँ सँगै फर्कौँला । पसल त्यही इलामे बाहुनलाई जिम्मा लाएर आए हुन्छ । शंका गर्नु पर्दैन, त्यो मान्छे भरपर्दो छ, क्या ! बेइमानी गर्दैन ।’
‘हेर हेर, दमाई, कामीका बुद्धि घुच्चुकाँ हुन्छ भन्थे, हो रहेछ । यहाँ यत्रो बिजनेस कामदारलाई जिम्मा लाएर आऊ भन्छ । त्यहाँ तिमी नै मुन्टिराख । तिमी नै किलाकाँटा ठोकिराख । ककसलाई सघाउनुपर्ने हो, ककसका घर बनाउनुपर्ने हो, ककसलाई मासु काटेर दिनुपर्ने हो दिइराख । मलाई त्याँ आउनु छैन, बुझ्यौ ?’
‘बुझेँ । यति राम्ररी बुझाएपछि ढुंगामुडाले त बुझ्छन् । मैले किन नबुझ्नु ?’
‘तिम्रो बुद्धि त कुकुरबिरालाको जति पनि छैन, के फुर्ती गर्छौ !’
‘ल बाबा मानेँ । तर, तिमी ह्याँ आउन किन नमानेकी भन त ? दमिनी हुनुपर्ला भनेर हो ? हा…हा..हा !’
‘केको ह्या…ह्या..ह्या ! दमाईसँग पोइला गकी केटीलाई क्षत्रानी मैसाप भनेर वेलकम गर्दैनन् के रे, अनि किन आउनु ?’
‘त्यहाँ चाहिँ तिमी उपाध्याय बाउनी हुन्छ्यौ र ?’
‘…………….।’
‘साँच्चै भनेको, केही समय तिमी पनि आऊ न त !’
‘इस….आउँला ।’
श्रीमती रिसाएर स्काइपमा अफलाइन भइदिई । त्यसको कर्कश स्वर उसको कानमा यसरी ठोकियो मानौँ कसैले दर्फराउँदो हातले लोप्पा खुवाएको थियो । तैपनि ऊ श्रीमतीको जिद्दी स्वभाव सम्झेर मुसुक्क हाँस्यो । Read the rest of this entry »

DOUBT

February 23, 2017

By Avaya Shrestha

Doubt the beautiful
Collages rendered by
These various images of clouds,
Doubt the beauty
Of the existence of various
Floating colors on beautiful lakes
And of the snow— like patches of clouds—
That has come to your hands.

Read the rest of this entry »

सुन्दर परियारको नयाँ थर

October 30, 2016

अभय श्रेष्ठ


सुन्दर परियार नेपाल आएको १० महिना बित्यो । तर, फर्कने नाम लिइरहेको थिएन ।
अमेरिकाको इडाहो राज्यस्थित पोकाटेलोमा उसको नेपाली सामान पाइने ग्रोसरी राम्ररी चलेको थियो । श्रीमतीलाई त्यो समाल्न भ्याइनभ्याइ थियो । यता, बहिनीको बिहेको केही दिनमै ०७२ साल वैशाख १२ गते नेपालमा ठूलो भूकम्प गयो । त्यसको विनाशलीला देखेर उसको मन भताभुंग भयो । भूकम्पपीडितको उद्धारमा उसले ज्यूज्यान लगाएर सघायो ।
युनिभर्सिटी अफ इडाहोको आडैमा रहेको ग्रोसरीबाट श्रीमती बारम्बार ताकेता गरिरहन्थी । उसले एक महिना, अर्को महिना गर्दागर्दै यत्रो समय बितायो । एकपल्ट त उसले श्रीमतीलाई पनि पसल बेचबिखन गरेर नेपाल फर्कन भनेको थियो । श्रीमतीले सातो लिने गरी हकारी ।
श्रीमती थिई क्षत्रानी कुलकी । बेलाबेला जातको घमण्ड उसको बोलीमा प्रदर्शन हुन्थ्यो । हिजैमात्र त्यसले स्काइपमा उसलाई बेसरी हकारेकी थिई ।
‘अँ, तिमी आउने कि नआउने भन त ?’
‘आउने नि, किन नआउनु ?’
‘अनि किन नमुन्ट्या त ?’
‘गाउँमा यहाँ बेहाल छ । मान्छेलाई बस्ने बास छैन, खानलाई गाँस छैन । यस्तो बेला हाम्ले नसघाए कसले सघाउँछ भन त ? बरु तिमी पनि केही समय यतै आऊ । दुवै जना मिलेर घरबार नभएकालाई सानोतिनो कटेरो बनाइदिउँला ।’
‘अँ..अरू केही भन्नु छ ?’
‘तिमी बाँस समाइदेऊ, म खाल्डो खनुँला । तिमी जस्तापाता समाइदेउ, म किलाकाँटा ठोकौँला । अनि लास्टाँ सँगै फर्कौँला । पसल त्यही इलामे बाहुनलाई जिम्मा लाएर आए हुन्छ । शंका गर्नु पर्दैन, त्यो मान्छे भरपर्दो छ, क्या ! बेइमानी गर्दैन ।’
‘हेर हेर, दमाई, कामीका बुद्धि घुच्चुकाँ हुन्छ भन्थे, हो रहेछ । यहाँ यत्रो बिजनेस कामदारलाई जिम्मा लाएर आऊ भन्छ । त्यहाँ तिमी नै मुन्टिराख । तिमी नै किलाकाँटा ठोकिराख । ककसलाई सघाउनुपर्ने हो, ककसका घर बनाउनुपर्ने हो, ककसलाई मासु काटेर दिनुपर्ने हो दिइराख । मलाई त्याँ आउनु छैन, बुझ्यौ ?’
‘बुझेँ । यति राम्ररी बुझाएपछि ढुंगामुडाले त बुझ्छन् । मैले किन नबुझ्नु ?’
‘तिम्रो बुद्धि त कुकुरबिरालाको जति पनि छैन, के फुर्ती गर्छौ !’
‘ल बाबा मानेँ । तर, तिमी ह्याँ आउन किन नमानेकी भन त ? दमिनी हुनुपर्ला भनेर हो ? हा…हा..हा !’
‘केको ह्या…ह्या..ह्या ! दमाईसँग पोइला गकी केटीलाई क्षत्रानी मैसाप भनेर वेलकम गर्दैनन् के रे, अनि किन आउनु ?’
‘त्यहाँ चाहिँ तिमी उपाध्याय बाउनी हुन्छ्यौ र ?’
‘…………….।’
‘साँच्चै भनेको, केही समय तिमी पनि आऊ न त !’
‘इस….आउँला ।’
श्रीमती रिसाएर स्काइपमा अफलाइन भइदिई । त्यसको कर्कश स्वर उसको कानमा यसरी ठोकियो मानौँ कसैले दर्फराउँदो हातले लोप्पा खुवाएको थियो । तैपनि ऊ श्रीमतीको जिद्दी स्वभाव सम्झेर मुसुक्क हाँस्यो ।


इडाहो युनिभर्सिटी पढ्दा एउटा नेपाली सांस्कृतिक कार्यक्रममा यो गोरखाली क्षत्राणीसँग उसको परिचय भएको थियो । पछि ऊ बसेकै घरको तल्लो फ्लाटमा बस्न आइपुगी । आईटी पढ्न भनेर अमेरिका छिरेकी त्यो केटी पढाइ रोकेर एउटा रेस्टुराँमा काम गरिरहेकी थिई । बिस्तारै ऊ सुन्दर परियारसँग आकर्षित भई र जातपातको फन्डा छाडेर उसैसँग बिहे गर्न तयार भई । बिहेपछि नै उसले ग्रोसरी सुरु गरेको थियो । चाँडै नै त्यसबाट राम्रो कमाइ हुन थाल्यो । त्यसलाई उसले क्षत्राणी सुन्दरीको ‘लच्छिन’ मानेको थियो ।
तर, यता नेपालमा गएको भूकम्पको विनाशलीलाले उसलाई सताउन छाडेको थिएन । उसको गाउँभरिमा १७ जना भुइँचालोले थिचिएर मरेका थिए । साराजसोको घर ढलेर सडकमा सुत्न पुगेको थियो । देशका १४ जिल्लामा त्यसले महाविपत्तिको बाढी ल्यायो । पछि वैशाख २९ सम्म त्यसले ३१ जिल्लामा आफ्नो नंग्रा फिँजायो । उद्धार गर्दागर्दै भत्केको भित्ता र दलिनले चेपिएकी एउटी वृद्धाले उसकै आँखाअगाडि प्राण छाडेकी थिई । पारि ज्यापु बस्तीमा खेतबाट आलु खनेर घर पु¥याउन गएका एकै परिवारका आठ जनाको चोला उठेको थियो । यस्तै बेला फोनबाट बहिनीले सोधेकी थिई, ‘दाइ, हाम्रो त घर भत्कियो । तर, कसैलाई केही भएन । त्यहाँ सबैलाई ठीक छ ?’ किलकिले थिचिएझैँ उसकोे वक बन्द भएको थियो । उसको आफ्नै घर पनि भत्केको थियो । उसलाई आँखा थामिनसक्नु भयो । जिन्दगीमा पहिलोपल्ट ऊ गाउँलेको मृत्युमा आफन्तकै मृत्युमा झैँ रन्थनिएको थियो ।
गाउँ छाडेर राहत सामग्री र स्वास्थ्यकर्मीको टोली लिएर ऊ सिन्धुपाल्चोक र दोलखा पुग्यो । घाइतेको घाउमा आफैँले मलम लगायो । राहत सामग्री अपर्याप्त भएपछि त्यो मात्र सब कुरा होइन भन्ने महसुस गरेर आफैँ भत्केका घरहरू पन्छाउन जुट्यो । गाउँ फर्केपछि देख्यो, राहत वितरणमा राजनीतिक दलहरूले धेरैलाई अन्याय गरेका थिए । जोजो अन्यायमा परेका थिए, तिनलाई आफ्नै खर्चमा जस्ताको टहरा बनाइदिन उसले कम्मर कस्यो । पैसा नपुग्नासाथ ऊ श्रीमतीलाई गुहाथ्र्यो । पहिला श्रीमतीले पनि नाइनास्ती गरिन । पछि हकार्न थाली । तैपनि उसले आफ्नै खर्चमा र एकल पहलमा गाउँका विपन्न ४० परिवारलाई टहरा बनाइदियो । अन्न पुरिएर खान नपाएकालाई चामल र नुनतेल किनिदियो ।
उसको यस्तो उदारता देखेर विभिन्न संघसंस्था ऊसँग हातेमालो गर्न आइपुगे । भत्केका सार्वजनिक विद्यालय बनाउनदेखि गरिब विद्यार्थीको छात्रवृत्ति बेहोर्नसमेत तिनले उसको अभियानमा सघाए । अमेरिका बस्ने साथीहरूले पनि पैसा पठाउन थाले । ती सबैको एकएक हिसाब राखेर उसले काम ग¥यो ।
पहिले राम्रो पढाइ भए पनि दमाई भएकाले सधैँ हेला, उपेक्षा र तिरस्कार भोगिरहेको सुन्दर अमेरिका जाने भएपछि चर्चाको पात्र बनेको थियो । भूकम्पपीडितको उद्धारमा समर्पित भएपछि अहिले गाउँभरिको हिरो भयो ।


कथा यतिकैमा टुंगिएको भए त गजब हुन्थ्यो । तर, उसको जीवनमा एउटा दुर्घटना आउन बाँकी नै थियो । त्यसको अनुमान कसैले गर्न सकेको थिएन । हुँदो हो त यस्तो दुर्घटना कदापि हुने थिएन । गाविसले अभिनन्दन कार्यक्रम नराखेको भए यस्तो हुने थिएन । अभिनन्दन गरे पनि बेलुकीको पार्टीमा ऊ संलग्न नभएको भए यस्तो हुने थिएन । पार्टीमा संलग्न भए पनि अन्य दमाई, कामीले झैँ चुपचाप सहिदिएको भए सायद यस्तो हुन्थेन ।
सुन्दर परियार अमेरिका फर्कने दिन नजिकियो । गाउँका विभिन्न क्लबले उसलाई अभिनन्दन गरे । आनाकानी गर्दागर्दै उसको जस्ताको टहरामा अनिनन्दनपत्र राख्न ठाउँ नपुग्लाजस्तो भयो । पछि गाविसले समेत गाउँबाट राष्ट्रिय स्तरमा विभिन्न क्षेत्रबाट योगदान गर्ने अन्य व्यक्तिसँगै उसको अभिनन्दन गर्ने भयो ।
अभिनन्दित हुने अन्य व्यक्ति थिए, शुभयात्रा राष्ट्रिय दैनिकका स्थानीय संवाददाता सुकमान किलम्बु, अनुष्टुप छन्दका कवि हरिओम त्रिपाठी, गुन्द्रुकको पौष्टिक महत्वमाथि पीचडी सीताराम कार्की, गाउँको पहिलो एमबीबीएस डाक्टर सोमप्रसाद नेपाल, दोहोरी गायिका तथा मोडल जुनु मगर, नाटक निर्देशक सुमेन्द्र घिमिरे, व्यापारी कमलप्रसाद सापकोटा र ब्लडप्रेसरको औषधि खाएर थान्को लागेको बुढो पत्रकार सुईबहादुर थापा ।
अभिनन्दनका दिन गाविसको आह्वानमा हरेक वडाबाट विभिन्न सांस्कृतिक झाँकीसहित विशाल ¥याली निस्कियो । अभिनन्दित हुने जोजो व्यक्ति जुनजुन वडाका थिए, त्यहाँबाट बाजागाजा र नाचगानसहित तिनलाई अघि लगाइयो । सुन्दर परियारको वडाबाट त अझ विशेष प्रस्तुति थियो । उसको प्रशंसामा पुरुष र महिला समूहले दोहोरी गीतको अन्ताक्षरी नै चलाएका थिए । ज्यापु नेवारहरूले टुमटुम छ्याँ, पाकु पाकु छ्याँ गर्दै बजाएको ठुम्काको तालमा, कहिल्यै ननाच्ने पूर्वप्रधानपञ्च शुभबहादुर कार्कीसमेत फुनुक्क फुनुक्क घुम्दै, डँडालो भाँच्दै नाचेको थियो ।
सबै वडाको जुलुस गाविसको विशाल प्रांगणमा जम्मा हुँदा मञ्चबाट टाउकाहरूको विशाल सागर नै देखिन्थ्यो । वायाँबाट अलि छड्के परेर उक्लन मिल्ने मञ्चमा आसीन व्यक्तिलाई हरेक ठाउँबाट प्रस्टै देख्न सकिन्थ्यो । कार्यक्रमका प्रमुख अतिथि पनि चानचुने थिएनन्, प्रधानमन्त्री कार्यालयका सचिव । तोकिएको समयभन्दा एक घण्टा ढिलो गरी प्रमुख अतिथि आएपछि उद्घोषक कुमार वाग्लेले कार्यक्रम सुरु ग¥यो जो स्थानीय एफएमको लोकप्रिय आरजे थियो ।
उद्घोषकले प्रमुख अतिथिपछि अभिनन्दन गरिने व्यक्तिलाई मञ्चमा बोलायो । तर, किन हो सुन्दर परियारलाई बोलाएन । त्यसपछि जिल्ला विकास अधिकारी, राजनीतिक दलका स्थानीय प्रतिनिधि, प्रहरी कार्यालय र वन कार्यालयका प्रतिनिधिलाई बोलायो । अन्त्यमा, भूलवस छुटेकोमा माफी माग्दै उसले सुन्दर परियारलाई पनि मञ्चमा आसन ग्रहण गरायो । दुई जना नवयुवतीले अतिथिहरूलाई फूलमाला लगाइदिएर स्वागत गरे । अर्का दुई जनाले ब्याच लगाइदिए । स्थानीय विद्यालयका विद्यार्थीले राष्ट्रिय गान, स्वागत गान र नृत्य प्रस्तुत गरे । त्यसपछि प्रमुख अतिथिले टीका, फूलमाला र सम्मानपत्र दिएर ती विशिष्ट पात्रहरूलाई अभिनन्दन गरे । अभिनन्दनका क्रममा पनि अन्तिममा राखिएपछि सुन्दर परियारलाई मनमा झस्का पस्यो । किनभने पहिला त यो अभिनन्दन कार्यक्रम उसकै लागि मात्र राख्ने कुरा भएको थियो । पछि राजनीतिक दलहरूको प्रतिनिधिको दबाबमा अन्य व्यक्ति पनि यस सूचीमा परे ।
उद्घोषकले बेइमानी गरे पनि कार्यक्रममा सुरुका दुई वक्ताले सबैभन्दा बढी चर्चा र प्रशंसा सुन्दर परियारकै गरिदिए । त्यसपछि उद्घोषकले अर्का वक्तालाई पालो दिने क्रममा सुन्दर परियारको प्रशंसामा समुदै्र बगाइदियो । उसले सुन्दरलाई थर फेर्न पनि सुझाव दियो जस्तो कि सम्भ्रान्त हुँदै गएपछि कतिपय दलित गैरदलितको थर ग्रहण गर्छन् ।


कुरा यतिमै टुंगिएको भए केही थिएन । सुन्दर परियारलाई दशाले घेर्न बाँकी नै थियो । सारा गडबडी अभिनन्दित व्यापारी कमलप्रसाद सापकोटाले बेलुकी शुभकामना पार्टी प्यालेसमा अभिनन्दित व्यक्ति र गन्यमान्यहरूलाई दिएको ककटेल डिनर पार्टीमा भयो । रक्सीले उन्मत्त भद्रभलाद्मीले यहाँ पनि सुन्दर परियारको उधुमै प्रशंसा गरिदिए । कुमार वाग्लेले यहाँ पनि सुन्दरलाई थर फेर्न सुझाव दियो । तर, उसको तरिका निकै भद्दा थियो ।
‘यता सुन् म्याटोक्ने सुन्दरे, हामी तँलाई दमाई नै मान्दैनौँ, यति राम्रो काम गर्ने मान्छे दमाई हुनै सक्दैन’, वाग्लेले एक हातमा गिलाँस समाउँदै र अर्को हातले सुन्दरको पिठ्यु थपथपाउँदै र चोर आँखाले अरूतिर आँखा झिम्क्याउँदै भन्यो, ‘तैँले थर फेर्नै पर्छ बुझिस् ?’
स्थानीय एफएमको स्टेसन म्यानेजर रविन्द्र घिमिरेले वाग्लेलाई रोक्दै साउतीको स्वरमा भन्यो, ‘सुन्दरजी, वास्तवमै तपाईँले महान् काम गर्नुभएको छ । हुन त अब एकेडेमीकल्ली मिल्दैन, तर दिलैले भन्छु, तपाईँले थर फेर्दा राम्रो हुन्छ । जन्मले क्षत्रीय भए पनि विश्वामित्र साधनाले ब्राह्मण ऋषि भए । कुनै पनि व्यक्ति कर्मले ब्राह्मण र कर्मैले दमाई, कामी हुने कुरा हाम्रो धर्मशास्त्रैले भनेको छ । हेर्नुस्, यही गाउँका कति ब्राह्मण दिउँसै धोकेर, लाजभाड बोलेर दमाई, कामीको जुनी बिताइरहेका छन् । तिनलाई तपाईँको अगाडि कसरी ब्राह्मण भन्ने ? साँच्चै भन्छु, कर्मले तपार्इँ ब्राह्मण हुनुभयो । दमाईहरूले नेपाली थर राख्छन् । तपाईँले चाहिँ ‘नेपाल’ थर राख्दा राम्रो हुन्छ ।’
‘यो कुरा मलाई पनि उहिल्यैदेखि लागेको होे, मुख फोड्न मात्र नसकेको !’ आतिथेय सापकोटाले नरम स्वरमा भन्यो, ‘सुन्दरजीलाई परियार भनिरहनु दमाई भनेर होच्याउनुजस्तो लाग्छ । यो मलाई पनि ठीक लाग्दैन ।’
नेपाली काँग्रेस गाउँ सभापति टंकभक्त खत्रीले थप्यो, ‘हुन त यो तिम्रै इच्छामा भर पर्छ । अचेल के जाति, त्यो पहिचान सहिचानको कुरा गर्छन् तर, दमाई–कामीको भुत्रा पहिचान ! व्यावहारिक हुने हो भने तिमीले पुरानै थर झुन्ड्याइरहनु जरुरी छैन । अरू हाँडेगाँडे दमाई र सुन्दर परियारलाई एउटै ड्याङमा राख्न मिल्दैन । कहाँको हरिद्वार, कहाँको मलद्वार ! त्यसैले तिमीले थर फेर्नैपर्छ बाबु !’
‘मनासिब कुरा हो सुन्दर दाइ !’ सानै उमेरमा पण्डित्याइँ गर्न थालेको राममणि रिसालले भन्यो, ‘नत्र हामी तपाईँसँग यसरी एउटै भोजमा सँगै बसेर खाने स्थिति नै हुने थिएन ।’
‘पासा सुन्दर, कुुरा ठीकै हो,’ करातेमा ब्लाकबेल्ट प्रवेश श्रेष्ठले मीठो स्वरमा भन्यो, ‘परियार भन्नासाथ मलाई पनि कसोकसो दिगमिग लागेजस्तो हुन्छ है !’ यता, बगलमै उभिएर मिरिन्डाको चुस्की लिइरहेका प्रवेशकी श्रीमती र जुम्बा प्रशिक्षक बहिनी सुन्दर परियारलाई प्रशंसात्मक भावले हेरिरहेका थिए ।
वाग्लेले चारपाँच जनालाई तानेर एकातिर लग्यो र केर्न थाल्यो । उसको कुरा सुनेर सबै जना हाँस्न थाले । ‘जल्ले जे भने नि, कुराचाहिँ खसोखास त्यही हो, तर अचेल सार्वजनिक ठाउँमा त्यस्तो बोल्यो भने खुट्टा भाँच्छन्, के गर्नू !’ आतिथेय सापकोटाको कुरामा फेरि अर्को खेप हाँसोको लहर चल्यो ।
‘यो उहाँको व्यक्टिगट कुरा हो, यसमा कसैले डख्खल डिनु हुन्डैन’, संवाददाता शुकमान किलम्बुले वाग्लेको समूहलाई सुनाउँदै पूर्ण नेवारी लवजमा भन्यो, ‘यो कुरा एकेडेमीकल्ली पनि मिल्डैन । उहाँका छोराछोरीको हकमा भने मिल्ला । ट्याँमाठि आफू ट पहिचान पक्षढर मान्छे हेर पासा, कसैलाई ठरै फेर चाहिँ भन्न सक्डिनँ का !’
‘लौ उठ् मूला, के यो जातैपिच्छे राज्य चाहिन्छ भनेर अठ्याँ र मठ्याँ गर्ने ठुटे पत्रकारको पछि लाग्छस् !’ सुन्दरको पाखुरा तान्दै वाग्लेले भन्यो, ‘आजदेखि तँ खुइले दमाईको छाउराले पनि बाहुनको थर पाइस् । ख्याल ख्याल होइन, यो एउटा पपुलर आरजेले घाषणा गरेको कुरा हो, बुझिस् ? लौ आइज, डानस गरौँ !’
‘सुन्दर नेपाल !’
‘जिन्दावाद ! जिन्दावाद !’
‘सुन्दर नेपाल !’
‘जिन्दावाद ! जिन्दावाद !’
‘सुन्दरे दमाई !’
‘बाइबाई !’
‘सुन्दर नेपाल !’
‘हाइहाई !’


सुन्दर परियारले टाउको समायो । कहिल्यै रक्सी नखाने सुन्दरले आज आतिथेयको करमा एकएक पेग वाइन र एक गिलास बियर खाएको थियो । त्यतिले उसलाई लागिसकेको थियो ।
एक्कासि उठेर ऊ बहुलाझैँ चिच्यायो । उसले टेबुलमा रहेका गिलासहरू भताभुंग पारिदियो । त्यसपछि आफैँ बसेको मेच भुइँमा बजार्न थाल्यो । भाँचिएको मेचको खुट्टा टिपेर उसले आरजे वाग्लेको नलीखुट्टामा एक दनक दियो । वाग्ले ‘मा¥यो बाबा’ भन्दै खुट्टा समाएर भुक्लुक्क ढल्यो । ढलेकै अवस्थामा त्यसको ढाडमा अर्को एक दनक दियो । दुई जना वेटर निरीहतापूर्वक हेरेको हे¥यै भए । त्यसपछि उसले जजसलाई भेट्यो, त्यत्यसलाई दनक दियो । आतिथेय व्यापारी सापकोटा, पत्रकार किलम्बु र रेस्टुराँका एकदुई कर्मचारीको समेत पिठयुँमा दनक बर्सियो । तीन जना बुढाहरू भुइँमा पछारिए । तिनीहरूको ढाडमा कुल्चेर मानिसहरू भागाभाग गर्न थाले । ती ऐया ऐया भनेर चिच्याउन थाले । दुई जना वेटर युवती थरथर काम्दै भित्तामा अडेस लागेर बसे । मञ्चमा गीत गाइरहेको टोली थुरथुर काँप्दै भ¥याङमुनि गुचमुच्च उभिए ।
मेचको खुट्टा घुमाएर भित्तामा झुन्ड्याइएको मोनालिसाको स्केच उसले झार्लामझुर्लुम पारिदियो । त्यसपछि पश्चिमतिर रहेको मञ्चमा चढ्यो । माइक फु ग¥यो । हेलो भन्यो । ‘मलाई बाहुन हुनु छैन । तपाईँहरूले सुन्नभो, मलाई बाहुन भएको नाटक गर्नु छैन । म जे छु, ठीकै छु । म सुन्दर परियार नै हुँ । दमाई भएर मैले कसैलाई हानि गरेको छैन, गर्ने पनि छैन, दमाई हुनुमा मलाई कुनै पछुतो छैन ।’ यति भन्दाभन्दै क्वाँ क्वाँ रुन थाल्यो । चार जना गार्डले उसलाई समाएर झ्याइँकुटी पार्दै तल ओराले । दौडँदै आएर दुई जना केटाले उसलाई लात र मुक्का हाने । एकैछिनमा उसको नाकमुखबाट ह्वालह्वाल्ती रगत बग्न थाल्यो । गार्डहरूले उसलाई सक्दो बचाए र बाहिर पु¥याए । एकैछिनमा प्रहरी भ्यान आइपुग्यो ।
भोलिपल्ट गाउँभरि हल्लीखल्ली भयो । कसैले सोध्नासाथ गाउँलेहरूको मुखमा जवाफ हाजिर थियो, ‘सुन्दरे दमाई बहुलायो !’


हिजोसम्म गाउँभरिको हिरो सुन्दर परियार आज एकाएक खलनायक भयो । एकपल्टलाई माफ गर्ने पक्षमा जोजो थिए, तिनले पनि बोल्ने आँट गरेनन् । सुन्दरको बाबुले गाउँलेसामु करजोरी बिन्ती गर्दा पनि केही लागेन । गाउँलेहरूको ठूलो टोली उसलाई कडा कारबाही गर्न माग राख्दै दिउँसो महानगरीय प्रहरी प्रभाग, कटुन्जेमा डेलिगेसन गए ।
avaya.writes@gmail.com

आठ कविताको ब्रम्हाण्ड

July 14, 2016

xरोशन शेरचन

समकालीन कविता राम्रा लेखिएका छन् । एउटा प्रमुख कारण हो– तीव्र प्रतिस्पर्धा र प्रकाशनको बढ्दो अवसर । कविलाई नजिक वा सुदूरका राम्रा कविमाझ उत्कृष्ट कविता लेख्नुपर्ने तीव्र दबाब छ । पहिलेको जस्तो कछुवा गतिको समय अहिले छैन । क्रिया–प्रतिक्रियाको परकम्पछेउ बसेर कविता लेख्नु अत्यन्त चुनौतीपूर्ण छ । पाठकहरू उत्तिकै चेतसम्पन्न छन् ।
द्रुततर बदलिएको राजनैतिक परिदृश्य, नाफामुखी भूमण्डलीकरणले अठ्याउँदै लगेको गोलाद्र्ध र प्रविधिले हस्तक्षेप गरेको समाजमा ठोकुवा गरेर केही भन्न अब कठिन छ । पुरातन हाजिरजवाफ शैलीले अब सान्दर्भिकता गुमाइसक्यो । आधारहरू अगाडि नसारी भन्नु सुसाइडल हँदैछ ।
यस्तो परिप्रेक्ष्यमा बीस, पच्चीस कविताको चर्चा नगरी नेपाली कविताबारेमा केही भन्नु जोखिमपूर्ण छ । यस सीमाप्रति सचेत हँदै, नितान्त व्यक्तिगत कारणले मलाई मन परेका आठ लिभिङ पोइटका कविताबारे चर्चा गर्छु । यी कविताले बेग्लै ब्रम्हाण्ड रचना गरेको छ, पृथक् संरचना, विशेषता, प्रवृत्ति, बिम्ब, अर्थ र सीमा बोकेर ।

लुतोः श्यामल
‘लुतो’ श्यामलको सिग्नेचर कविता हो । सामान्य सरुवा रोगलाई बिम्ब बनाएर वैचारिकतासँग जोड्दै मान्छेको एकपाखे दृष्टिकोणको चित्रण गरिएको यो कविता असाधारण छ । श्यामल आडम्बर र छद्मताको प्रखर विरोधी लाग्छन् । सामाजिक उत्तरदायित्वपूर्ण कविता लेख्छन् । समयचेतले समृद्ध र वाचाल छन् । मलाई उनी नेपाली कविता साहित्यकै सम्प्राप्ति लाग्छन् ।
कविता सिर्जनामा निरन्तर चार दशकदेखि गतिशील उनी भाषालाई मानव जीवनको सबैभन्दा शक्तिशाली अस्त्र मान्छन् र कवितालाई त्यस अस्त्रको पनि अस्त्र । कविताको त्यही अस्त्र उज्याएर उनी लुतो विचारलाई प्रहार गर्छन् । यहाँ तर्कलाई भ्रमले जित्छ । धर्म विज्ञानको बुई चढ्छ । कला बौद्धिक विलासको साधनमात्र बन्छ । र, लेखकको सामाजिक उत्तरदायित्व बेकाम ठानिन्छ । मान्छेका उदात्त भावना उनका कवितामा आउँदा झनै उदात्त बन्छ ।
लुतो एक विचार रहेछ
मानिसलाई विचारशून्य बनाउने
आद्यबिम्बसहितको उत्तर–आधुनिक विचार
रोग र औषधि दुवै बेच्ने
नाफाखोर बजारजस्तो लुतो
जहाँ रहँदैन मानिस मानिसझैं
बस्, कन्याइरहन्छ आफ्नो आङ
तृप्त, आनन्दविभोर र बिलकुल एक्लो
मजा लिइरहन्छ
आफ्नो आङ कन्याइरहनुमा । Read the rest of this entry »

सन्देह

May 5, 2016

-अभय श्रेष्ठ

यी बादलका अनेक चित्रहरूले
कोरेका सुन्दर कोलाजमाथि सन्देह गर
पानीका सुन्दर तालमा देखिने
विविध रङको अस्तित्व
र बादलका टुक्राझैँ
तिम्रा हातमा पर्न आएको हिउँको सौन्दर्यमाथि सन्देह गर ।

अखबार र टेलिभिजनका सनसनीपूर्ण समाचार
कविका फूलबुट्टे सुकिला कविता
मनको एक कुनालाई धक्का दिने बुद्धिजीवीको विचार
र, देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधनमाथि सन्देह गर ।

तिम्रा सम्मानित गुरुले
मीठो भाषामा सुनाएका कथा
महान् इतिहासकारले लेखेको इतिहास
र, संसारका सर्वमान्य मूल्यहरूमाथि पनि सन्देह गर ।

पग्लँदै गएको हिउँजस्तो
युधिष्ठिरको सत्यनिष्ठा
र, अछुतो आकाशजस्तो
अर्जुनको वीरतामाथि सन्देह गर
देवव्रतको भीष्म प्रतिज्ञा
दुर्योधनको दुष्टता
अनि वेद र पुराणका तिलस्मी कथाहरूमाथि सन्देह गर ।

सुकरात, माक्र्स र गान्धी
डार्विन, फ्रायड र आइन्सटाइन हुन केबल तिम्रा सहयात्री
पवित्र बाइबल, रामायण, महाभारत
धम्मोपदेश, त्रिपिटक
र, कुरान नै होइनन् अन्तिम सत्य
न ब्रह्मा सत्य हो, न मिथ्या हो जगत
विष्णु, महेश्वर, श्रीराम
क्राइस्ट, कविर, मोहम्मद
र सन्देहको कुरा गर्ने बुद्धमाथि पनि सन्देह गर ।

आँगनजस्तो एकत्र संसारमा
छैन कोही सन्देहको घेराबाहिर
सन्देहको ईश्वर रच्ने
मेरो यही कवितामाथि पनि सन्देह गर ।

म अविरल गर्छु सन्देह आफ्नै ब्रह्ममाथि पनि
जसरी माटोले हरेकपटक गर्छ
आफ्नै गर्भमा रोपिएको सत्वीजको परीक्षा ।

Me and Singer Parbati Rai at Alag Abhiyan on Mansir 26, 2072

December 17, 2015

avaya-shrestha-689x370_c

parbati

Me and songstress Parbati Rai at Alag Abhiyan

December 17, 2015

अछुतको प्रेमगीत

October 30, 2015

Avaya Shrestha

म छु वारि भीरमाथि
पिञ्जराको बुलबुलझैँ पारि छ मेरो प्यार ।

जसरी चल्छ खिया लागेको पुरानो घडी
ठीक त्यसरी नै चल्छ
नयाँ संविधानमा सत्ताको रथ
त्यसरी नै तिम्रो नजरमा
म अझै पुंकीका लागि
पिँढीभन्दा तल
गिडगिडाइरहने उही पुरानै अछुत हुन्छु
हार्नेहरूको वीरताझैँ मेटिन्छ
त्यहाँ मेरो आँसु, पसिना र रगतको धारा
हरेक सासमा
मान्छे भएर बाँच्न
जुध्नुपर्छ मैले तिम्रो सृष्टिको अभिमानसित ।

मलाई विश्वास छैन–
प्यारको आकांक्षामा वर्णको कुनै दायरा हुन्छ
म मान्दिनँ–
प्यारको संसारमा निषेधको कुनै भित्ता हुन्छ
भोरको मन्द हावाझैँ मेरो हृदयमा नित्य ठोकिएको
प्रेमको जबाफमा
किन रोकिन्छ मलाई प्रेमनगरको प्रवेशद्वारमा ? Read the rest of this entry »

Me, Dr. Padmaprasad Devkota and Harihar Timilsina

October 30, 2015

avaya, pdm p devkota,

देवालीमा महाभूकम्प

May 17, 2015

अभय श्रेष्ठ

यस पालिको महाभूकम्प हाम्रो देवाली पूजाको रामरमिताबीच नै आयो । त्यसले पूरै गाउँलाई बढारेर सडकमा सुतायो र महाविपत्तिको बाढी ल्यायो । देशका १४ जिल्लाले यही नियति भोग्नुप¥यो । वैशाख शुक्ल सप्तमीका दिन हाम्रो गाउँमा नेवारहरूको एक समूह देवालीमा व्यस्त हुन्छ । रमरम चिसोको पर्दा बन्द गरेर घामको पर्दा उघ्रिँदै गर्दा कानमा मगमग बास्ना आउने मूःस्वाँ, गर्धनमा रातो हिउँबाला लगाएर गाउँमा केटाकेटीहरू ओहोरदोहोर गरिहेका थिए । गाउँको पँधेरी ओरालो सकिएपछि आउँछ ‘माग्नेको आँगन’ जहाँ तिनको देवाली देवता छन् । समूहका समूह कुलदेवताको खट बोकेर घन्टी बजाउँदै त्यता हिँडिरहेको दृश्य रमितालाग्दो थियो ।
बलिप्रथासँग सर्वथा विरक्तिले हाम्रो पूजा पहिलो पहरमै सकिएको थियो । तर, पारिवारिक भेलामा अन्य कर्मकाण्ड जारी थिए । चार वटा कुलदेवतालाई जम्मा तीन वटा चाँदीका आँखा थिए । पाँच वटा आँखा पुगेन । सुरक्षा गार्डझैँ दायावायाँ गोःजालाई उभ्याएर, वः, थोँ, ग्वारामरी, मूःस्वाँ, हिउँबालाले छोपिएर चुपचाप खटमा विराजमान थिए हाम्रा कुलदेवता । पूजा सकेपछि समयबजी खाने बेला भयो । साँधेको अदुवा, कालो भटमास, बाराको टुक्रा, छोयला मिसाइएको समयबजी, तारेको आलु, चटामरी प्लेटमा राखियो । केटाकेटीको गिलासमा स्प्राइट र ठूलाको गिलासमा थोँ राख्दाराख्दै प्लेटको कौला जुरुक्क उचालिएर भुइँमा ओइरियो । गिलासहरू ढले । आँधीहुरीझैँ हुनहुनाउँदै आएको भुइँचालोबाट बच्न बारीको पाटोमा पुग्दा नपुग्दै नारायण काकाको घरको अघिल्लो भाग गर्लम्म ढलिसकेको थियो । धन्य, एक सेकेन्डको फरकले उनका छोराछोरी र साना केटाकेटीलाई भत्केको गारोले भेटेन । पारि तर्खालतिरबाट एउटा ठूलो मुस्लो धुलोको आँधी आइपुग्दा आफैँ बस्ने जस्ताको छाना भएको पाको इँटाको सुन्दर र वातानुकुलित घरको चुली भत्किसकेको थियो । बाँकी गारो एकातिर ढल्केर धराप भएको प्रस्टै देखियो । मानिसहरू राम राम भनिरहेका थिए । अघिल्तिरको छिमेकीको चारतले घर सुसाउँदै तीस डिग्रीको कोण बनाएर उत्तर–दक्षिण पिङ खेलिरहेको थियो । भुइँचालोले छतको टुप्पामा स्ट्यान्डमा उभिएको पानी ट्ंयाकीलाई झट्टी मिल्काइदियो । महादेवसँग युद्धमा मारिएको जालन्धरझैँ ठूलो आर्तनाद गर्दै त्यो जमिनमा पछारिएर बिस्फोट भयो । छतकै मन्दिर गर्लागुर्लुम ढल्यो । भगवान्ले आफ्नै मन्दिर जोगाउन सकेनन् । Read the rest of this entry »