अभय श्रेष्ठ
चर्चा र विवाद भारतीय मूलका अंग्रेजी उपन्यासकार सलमान रुस्दीका पर्याय हुन्। प्रायः उनी आफैं तिनका पछि लाग्छन्, यदाकदा तिनैले उनलाई पछ्याउँछन्। यसपालिको जयपुर साहित्य सम्मेलनमा उनी सहभागी भएनन्। तर, गोप्य हत्या योजनाको हल्लाले उनी सम्मेलनमा सबैभन्दा बढी चर्चाको विषय बने। उनको अत्यधिक विवादास्पद उपन्यास …सटानिक भर्सेस’को सबैभन्दा विवादास्पद अंश पढेकै कारण हरि कुन्जरु, जित थायिल, अमिताभ कुमार र रुचिर जोशीले बीचैमा सम्मेलन छाडेर फर्कनुपर्यो। सम्मेलनमा भारत सरकारको दबाबमा उनको भिडियो संवादसमेत बिथोलियो।
रुस्दीजस्ता संसारप्रसिद्ध लेखकको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध मुसलमान समाजले प्रतिबन्ध र फतवाको तरबार तेर्स्याउनु निन्दनीय छ। किन्तु, विवादको भकारी लगाउन रुस्दी आफैं कम छैनन्।
नयपल र रुस्दी
आर्थिक नीति बनाउँदा नैतिकता र दरिद्रतालाई केन्द्रमा राख्नुपर्ने अमर्त्य सेनको विचार संसारप्रसिद्ध छ। यही विचारका लागि सन् १९९८ मा उनलाई नोबेल पुरस्कार दिइएको थियो। ८० को दशकमा दिल्ली कन्स्टिच्युसन क्लबमा सम्पन्न अर्थशास्त्रीहरूको बृहत सम्मेलनमा सेनको विचार उपेक्षित भयो। खासगरी अंग्रेजी अखबारहरूमा त्यो बेला सेन होइन, भारत सरकारका आर्थिक नीति सल्लाहकार सुखमय चक्रबर्तीको हाईहाई थियो। बेलायती साम्राज्यको हावा लागेका अंग्रेजीभाषी उच्चवर्गीय पत्रकारलाई दरिद्रताको दलदलमा च्यापुसम्म डुबेको भारतको समस्यासँग सरोकारै थिएन। उनीहरूले आर्थिक नीतिका सन्दर्भमा नैतिकता र दरिद्रतालाई महŒव दिने कुरै भएन।
विवाद तेस्रो विश्वको अंग्रेजी लेखनको विशेषता हो। विवाद नभए यसको बजारमूल्य सकिन्छ। भारतीय अंग्रेजीभाषी पत्रकारको त्यही …परम्परा’को बिँडो रुस्दी स्वयंले थामेका छन्। आधुनिक युगमा …स्टन्ट’ र …स्क्यान्डल’कोे बजारमूल्य उनले राम्ररी बुझेका छन्। संसारका चर्चित लेखक र ठूला सञ्चारमाध्यमले लेखेका कुरा पत्याउन मानिसहरू बाध्य हुन्छन्। अतः उनी बेलाबेला स्टन्ट गरिरहन्छन्।
रुस्दीका टिप्पणी पढ्दा लाग्छ, उनी सिर्जनशीलताको भन्दा अंगे्रजी भाषाका पक्षपाती हुन्। विवादका मामलामा नोबेल पुरस्कार विजेता भिएस नयपल उनका गुरु हुन्। नयपलले केही वर्षअघि …लिटेरेरी रिभ्यु’ सँगको वार्तामा महान साहित्यकारहरूको धज्जी उडाएका थिए। …उनलाई सहनै सकिन्न,’ आञ्चलिक उपन्यासका जनक मानिएका थोमस हार्डीबारे नयपलले भनेका थिए, …किनभने उनलाई एकै अनुच्छेद राम्ररी लेख्न आउँदैन।’ उनका अनुसार अर्नेस्ट हेमिङ्वेलाई लेख्दा आफू कहाँ छु भन्नेसमेत होस हुँदैनथ्यो। चार्ल्स डिकेन्स उनका नजरमा बारम्बार उही कुरा दोहोर्याउने लेखक हुन्। जेन अस्टिनको …नर्थेंगर अबे’ पढ्दा कुरूप आइमाईले प्रेमको पाठ पढाइरहेझैं लाग्ने उनको टिप्पणी थियो। …किताब पढेपछि लाग्यो, म वृद्ध लोग्नेमान्छे, दिगमिगलाग्दी आइमाईको तथाकथित प्रेम पढिरहेछु।’ तर, आफ्नै देश र आफूबारे उनले भनेका थिए, …बेलायतमा मेरो लेखनप्रति हदै बेवास्ता छ।’ वार्तामा एचजी वेल्स, मार्क ट्वेन, ह्यारोल्ड पिन्टरबारे भने उनले सकारात्मक टिप्पणी गरेका थिए। विगतमा उनले इएम फोस्टरलाई …यौनकामी महापशु’ (सेक्सुअल प्रिडेटर) र जेम्स ज्वायसलाई …नबुझिने लेखेर साँढे पल्टेको’ आरोप लगाएका थिए। सन् १९३२ मा टि्रनिडाडमा जन्मेका नयपल …अ हाउस फर मिस्टर विश्वास’, बुकर विजेता …इन अ फ्रि स्टेट’जस्ता किताबका लागि संसारप्रसिद्ध छन्। सन् २००१ को नोबेल विजेता उनी श्रेष्ठ लेखक हुन् भन्नेमा शंका छैन। तर, बजारमूल्य उँचो राख्न सदैव उनी विवादको बैसाखी समाउँछन्।
रुस्दीको स्टन्ट
नयपलले जस्तै विवाद सिर्जना गर्न रुस्दीले अनेक स्टन्टबाजी गरेका छन्। स्वतन्त्रतापछिको भारतीय साहित्यबारे सन् १९९७ को जुलाईमा …न्युयोर्कर’मा छापिएको लेखमा उनले …एन एरिया अफ डार्कनेस’बाट नयपललाई उद्धरण गरेका थिए। त्यसअनुसार भारतीय भाषामा स्तरीय लेखन नै भएको छैन। यही टिप्पणी उनीद्वारा सम्पादित चर्चित किताब …भिन्टेज बुक अफ इन्डियन राइटिङ’मा पनि छ। …भारतीय महान आख्यानकार मानिएका प्रेमचन्द तुच्छ नीतिकथाकार हुन्’– नयपलले कतिसम्म लेखेेका छन् भने– …बाँकी सबै भोक, गरिबी र पुरानो लोककथालाई नयाँ खिचडी बनाउने आधुनिक लोककथाकार मात्र।’ नयपलका अनुसार भारतीय भाषाका साहित्य जेजति उनले पढे, स्तरहीनताका कारण त्यसपछि उनलाई पढ्ने रुचि नै समाप्त भयो। त्यहीँनिर रुस्दीले लेखेका छन्, …बल्ल भारतीय साहित्यमा यस्तो समूह आएको छ जसले यसकोे पुरानो अनुहार च्यातिदिएको छ। उनको सूचीमा सलमान रुस्दी, भिएस नयपल, विक्रम सेठ, वेद मेहता, रुथप्रवर झाववाला, अनिता देसाई, वापसी सिधावा, विक्रम चन्द्रा, अरुन्धती राय, अमिताभ घोष, गीता मेहता, गीता हरिहरन, सारा सुलेरी, अन्जना अप्पाचना आदि पर्छन् जो मूलरूपमा अंग्रेजीमै लेख्छन्। यस सूचीमा भारतीय भाषाका कुनै पनि लेखक छैनन्।
जोन बर्गरको किताब …सक्सेस एन्ड फेलर्स अफ पिकासो’मा विवाद र बजारमूल्यबीचको सम्बन्धबारे सुन्दर विश्लेषण गरिएको छ। आफ्ना कृतिका मूल्य बढाउन पिकासोजस्ता महान कलाकारले पनि प्रायोजित सनकको सहारा लिएका थिए। नयपल र रुस्दीको विवादप्रेमको निहितार्थ पनि यही हो।
रुस्दीका कृति
उनका आख्यानको मूल भूमि भारतीय उपमहाद्वीप हो। ऐतिहासिक पृष्ठभूमिका उनका कृतिमा जादु यथार्थवादको सफल प्रयोग भएको समीक्षकहरूको दाबी छ। पूर्वी र पश्चिमी संसारबीचका सम्बन्ध, खलबली, बसाइसराइ उनका मूल विषय हुन्। कोलम्बियाका नोबेल विजेता गाब्रियल गार्सिया मार्खेज उनका आदर्श लेखक हुन्।
उनको पहिलो उपन्यास …ग्रिमस’ को चर्चा खासै भएन। दोस्रो उपन्यास …मिडनाइट चिल्ड्रेन’ले भने उनलाई संसारप्रसिद्ध बनायो। कतिपय समीक्षकले यसलाई सय वर्षका उल्लेख्य उपन्यासकै सूचीमा राखेका छन्। यसले सन् १९८१ को म्यान बुकर पुरस्कार पायो। सन् १९९३ बुकर पुरस्कारको २५ वर्ष र २००८ मा ४० वर्षका पुरस्कृत कृतिमध्ये सर्वश्रेष्ठ उपन्यासका रूपमा पनि यसले पुरस्कार पायो। क्यानाडेली मूलकी भारतीय प्रसिद्ध निर्देशक दीपा मेहताले यसमाथि चलचित्र बनाउँदैछिन्। पटकथा लेखनमा रुस्दी स्वयं संलग्न छन्। कृतिका नायक सलिम सिनाईको चरित्र सन् १९४७ जुन १९ मा जन्मेका रुस्दी स्वयंसँग दाँजिन्छ। उपन्यासमा भारत स्वतन्त्र भएको मध्यरातमा जन्मेका बालकको प्रतिच्छायामा भारतकै नियतिको कथा छ।
समीक्षकहरू भन्छन्, बुकर विजेता उपन्यास …मिडनाइट चिल्ड्रन’पछि रुस्दीको चर्चा सिर्जनात्मक उचाइभन्दा बढी विवादका कारण भइरहेको छ। यथार्थमा इस्लाम धर्मप्रति अघोर विग्रहकै कारण उनी प्रसिद्धिको शिखर पुगे। उनका …सेम’, …सटानिक भर्सेज’, …मुर्स लास्ट साई’ जस्ता उपन्यासले औपन्यासिक ढाँचामा खासै मौलिक योगदान नदिएका टिप्पणी समीक्षकहरूले गरेका छन्। …सेम’को चर्चा पाकिस्तानी हुकुमतन्त्रलाई रिस उठाएका कारण भएको थियो। …सटानिक भर्सेज’ आयातुल्ला खोमेनीद्वारा रुस्दीविरुद्ध मृत्युदण्ड घोषणाका कारण। जुल्पि्ककर अलि भुट्टो र जनरल मोहमद जियाउल हकको चरित्रमा आधारित …सेम’ मा पाकिस्तानी राजनीतिक तनावको कथा छ। किन्तु, यसले फ्रान्समा उत्कृष्ट विदेशी किताबको पुरस्कार पायो। उता, इन्दिरा गान्धीको परिवारसँग सम्बन्धित विवादास्पद केही अंश हटाउन अदालतद्वारा भएको हस्तक्षेपका कारण …मुर्स लास्ट साई’ प्रसिद्ध भएको थियो। यसमा एक सय वर्षको भारतीय इतिहासमा जहानिया प्रभुत्वको कथा छ। उनका अधिकांश कथाहरू …इस्ट, वेस्ट’ मा संग्रहित छन्। …द ग्राउन्ड बिनिथ हर फिट’ लाई आधुनिक रक संगीतको वैकल्पिक इतिहास मानिन्छ। गैरआख्यानात्मक किताब …स्टेप एक्रस दिस लाइन’ मा उनले इटालीका लेखक इतालो क्याल्भिनो र अमेरिकी लेखक थोमस पिन्चोनको प्रशंसामा थुप्रै शब्द खर्चेका छन्। १९८९ फेबु्रअरी १४ मा आयातोल्ला खोमेनीको …फतवा’ ले त उनलाई शितयुद्धको उत्तरार्धमा साम्यवादी देशका भगौडा लेखक बोरिस पास्तरनाक, अलेक्जेन्डर सोल्जेनित्सिन, मान्देल्सताम, वैज्ञानिक सखारोभको जस्तै अन्तर्राष्ट्रिय ख्याति दिलायो।
सान्डानिस्टा सरकारको निमन्त्रणामा निकारागुआको यात्रा गरेर रुस्दीले लेखे, द जेगुआर स्माइल। किताबमा ल्याटिन अमेरिकी देशमा अमेरिकी हुकुम र षड्यन्त्रको भण्डाफोर गरिएको छ। तेस्रो विश्वका लोकतन्त्रप्रेमी लेखकलाई यो मन पनि पर्छ। तथापि, समीक्षकहरूका अनुसार यो अर्धसत्य, झुट र तथ्यहरूको तोडमरोडले भरिएको कृति हो। आफ्नो विचारलाई बल दिन बौद्धिक छलकपट गर्ने उनको प्रवृत्तिलाई यस कृतिले छर्लंग पार्छ। हालसम्म उनको अन्तिम उपन्यास …लुका एन्ड फाइर अफ लाइफ’ हो।
…
रुस्दीका अनुसार अनुवाद माध्यमबाट लगभग सबै भारतीय साहित्य पढेपछि उनी कुन नतिजामा पुगे भने स्वतन्त्रताको ५० वर्षमा भारतमा जेजति महŒवपूर्ण लेखिए, ती अंग्रेजीमै छन्। भारतीय भाषामा त्यस्तो कुनै साहित्य लेखिएन जसले विश्वसाहित्यको मानचित्रमा स्थान पाओस्। उनका अनुसार अनिता देसाई भारतीय जेन अस्टिन हुन् भने रोहितान मिस्त्री भारतीय स्टेन्ढेल, आरके नारायण भारतीय विलियम फकनर आदि। …स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले सन् १९४७ अगस्ट १५ मा त्यो …महान’ भाषण (एट द स्ट्रोक अफ मिडनाइट आवर ह्वेन द वर्ल्ड स्लिप्स) भारतीय भाषामा होइन, अंग्रेजीमा दिएका थिए,’ रुस्दीका अनुसार, …जो भारतको भविष्यमा अंग्रेजीको भूमिकाको संकेत थियो।’
आखिर बजारमा …हान्नेहरू नै जान्ने’ ठहरिन्छन्! रुस्दी किन पछि पर्थे!
…
रुस्दी अन्तर्राष्ट्रिय साहित्यमा परिचित नाम हो। तथापि, उनी बेन ओकरी, नुरुद्दिन फराह वा ओरहान पामुककै उचाइमा पनि छैनन्। मार्खेज, मिलान कुन्देराको त गोलीगाँठासम्मै पुग्दैनन्। परन्तु, विवादले उनको बजारमूल्य बढिरहेको छ।
न्युयोर्करमा रुस्दीको लेख छापिएपछि भारतीय साहित्य जगतमा ठूलो विरोध भयो। भारतीय साहित्यकारहरूले यसलाई आफ्नो साहित्यको अस्मिता, गरिमा र आत्मसम्मानमाथि साम्राज्यवादी शक्तिले दिएको नयाँ आघातका रूपमा लिए। उनीहरूको तर्क थियो, भारतीय साहित्य भारतीय अंगे्रजी साहित्यको तुलनामा श्रेष्ठ छ। प्रमाणका रूपमा उनीहरूले रविन्द्रनाथ टैगोर, सआदत हसन मन्टो, फणिश्वरनाथ रेणु, यसपाल, पे्रमचन्द, अब्दुल्ला हुसेन, कर्तुल एन हैदर, श्रीलाल शुक्ल, मुक्तिबोध, धुमिल, आलोक धन्वा, आचार्य हजारीप्रसाद द्विवेदी, राजकमल चौधरी, उदय प्रकाश, मोहन राकेश, निर्मल वर्मा, राजेन्द्र यादव, मन्नु भण्डारी, हरिशंकर परसाई, सआदत हसन मन्टो, महाश्वेता देवी आदिका रचना प्रस्तुत गरे।
साहित्यमा मूल कुरा सिर्जशीलता हो। तथापि, हल्ला र विवादले लेखकको बजारमूल्य बढ्छ। सञ्चार माध्यम उनीहरूकै चर्चाले रंगिन्छन्। किताब एकसाथ अन्तर्राष्ट्रिय बजारमा पुग्छ र हारालुछ हुन्छ। एउटै किताबबाट करोडौं आम्दानी हुन्छ। रुस्दीले बजारको यो चरित्र राम्ररी बुझेका छन्। त्यसैले त उनी केही न केही उपद्र्याइँ गरेर चर्चित भइरहन्छन् (धेरै पत्नी थुपारेर होस् वा अरूलाई गाली गरेर)। संयोग के भयो भने, यो पालि चर्चा स्वयं उनको पछि लागेर आयो।
….