संकटमा सहिद

त्यसै पनि पनि सहरमा सहिदको अपमान गर्ने अनेक विम्ब छन्। शोभाभगवतीमा विष्णुमतिको गन्ध झेल्दै उदास मुद्रामा उभिएको गंगालालको सालिकलाई धर्मपथको बीच सडकमा गर्वोन्नत उभिएको जुद्धशमशेरको सालिकले खिसी गरिरहेको छ। सहिदद्वारमा त्रिभुवन शाहको सालिकमुनि महान् चार सहिदका सालिक च्यापिएका छन्। त्यसमाथि सत्ताको बिनसँगै हल्लिएर मूल्य-मान्यताको अवसान भएको राजनीतिमा सहिद सबैभन्दा सस्तो पदवी भएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानले छापेको नेपाली बृहत् शब्दकोशअनुसार सहिद ‘आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति’ हो। सजिलोमा भन्दा कुनै पनि आदर्शका लागि कुनै सम्झौता नगरी प्राण अर्पण गर्ने व्यक्ति सहिद हो। सहिद भन्नासाथ हाम्रो नजरमा गंगालाल, धर्मभक्त, शुक्रराज शास्त्री, दशरथ चन्दको विम्ब आउँछ। लखन थापा, कृष्णलाल अधिकारी, लक्ष्मीनन्दन चालिसे, भीमदत्त पन्त, दुर्गानन्द झा, कृष्ण सेन इच्छुक, सरोज कोइराला, ऋषि देवकोटा ‘आजाद’, रतन वान्तावा, यज्ञबहादुर थापा अन्य केही नाम हुन् जसलाई सबैले सहिद स्विकार्न सक्छन्। ०६२/६३ को आन्दोलन सफलतासँगै तथाकथित सहिदको लर्को लाग्यो। तीमध्ये कतिले स्वर्गका कार्टुनिस्टलाई नै व्यंग्य गरिरहेका होलान्।
संविधानसभा निर्वाचनपछि बनेको एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहालको सरकारले ८ हजार ५ सय जनालाई सहिद घोषणा गर्‍यो। माधव नेपाल सरकारले त्यसमा ४ हजार व्यक्ति थपिदियो। नेपाली कांग्रेससँग आफ्ना सहिदको बेग्लै सूची छ। पछिल्लो पल्ट उसले चितवन जेलमा आक्रमणमा परी मारिएका शिवप्रसाद पौडेललाई सहिद घोषणा गर्न देशै बन्द गराएर खैलाबैला मच्चायो। कांग्रेस स्वयंलाई थाहा छ, पौडेल सहिद हुने कोटीका होइनन्। ‘दसौँ हजार लायक, नालायक सहिदको सूचीमा एउटा शिव पौडेल अट्नु नपर्ने कारण के छ?’ थाहा छ, यो गलत हो। सबैले गल्ती गरिरहेको ठाउँमा गल्ती गर्न पाउनु मेरो पनि मौलिक अधिकार हो। गान्धीवादी पार्टीको यस्तो ‘तर्क’ सुन्दा जगतै हाँसिरहेको छ। मूल्य र मान्यताको राजनीतिक अवसान भएपछि हुने यस्तै हो।
सहिद पदवीमा त्यस्तो के छ जसका लागि दलहरु यस्तरी मरिमेटिरहेका छन्? उही परिवारले पाउने दस लाख रुपियाँ। पुस २ गते काठमाडौँमा मृत्यु भएलगत्तै नेपाली कांग्रेसका भातृ संगठनहरुले गरेको अघोषित बन्दबाटै बाबुराम भट्टराई सरकार फत्तक्क गलिसकेको थियो। उसले सहिद परिवारलाई जतिकै पौडेल परिवारलाई पनि क्षतिपूर्तिस्वरूप दस लाख दिने घोषणा र घटनाको न्यायिक छानबिनका लागि आयोग गठन गरेकै हो। यति हुँदा पनि कांग्रेसले त्यसको दुई दिनपछि अत्यन्त असहिष्णु बन्द गर्‍यो। बन्दबाट तर्सेर भट्टराई सरकारले मुद्दा फिर्ता र सहिद घोषणा प्रक्रिया सुरु भएको घोषणा गर्नुपर्‍यो। यथार्थमा कांग्रेसलाई पौडेलसँगै फौजदारी मुद्दा लागेका प्रभावशाली गुन्डा कार्यकर्ता प्रमिस राईको मुद्दा फिर्ता गराएर चितवनमा फेरि तरुण दलको जगजगी कायम गर्नु थियो। त्यसमा उसले संविधानसभा निर्वाचनपछि सत्ताको विलासी आसनबाट सडकमा फ्याँकिएको कुन्ठास्वरूप मारिइसकेका व्यक्तिको फौजदारी मुद्दा फिर्ता र सहिद घोषणाको तोप तेर्स्याइदियो। कांग्रेसले दिएको अल्टिमेटम सकिने पूर्वसन्ध्यामा प्रधानमन्त्री बाबुराम भट्टराईले गृह मन्त्रालयले दिएको आश्वासनको खण्डन गरेका छन्। यसले लोकतन्त्रप्रेमीको भन्दा बढी उच्च वर्ग, कर्मकान्डी र यथास्थितिवादीको पार्टी बन्दै गएको कांग्रेसलाई माओवादीभन्दा चर्को ‘क्रान्तिकारी’ बन्न प्रेरणा मिल्नेछ।
देशभरि कोको कति जना, केके कारणले मरेका छन्, पृष्ठभूमिमा शक्ति छ भने सबै सहिद घोषित हुन सक्छन्। लोग्नेको कुटाइबाट मरेकी महिला पतिपीडित सहिद, स्वास्नीको अपहेलना सहन नसकेर आत्महत्या गरेका लोग्नेहरु पत्नीपीडित सहिद, मोटरले किचिएर मारिएका व्यक्ति पांग्रा पीडित सहिद, घाँस काट्दा लडेर मरेकी महिला भिरपीडित सहिद। यसले गर्दा शक्ति प्रदर्शन गर्नसक्नेले चाहँदा मरेका जोकोहीलाई सहिद घोषित गराउन प्रेरणा मिल्छ।
झन्डै दुई हप्ताअघि विश्व मानवअधिकार दिवसमै कालीकोट, जुबिथा गाविसका मनवीर सुनारलाई चुलो छोएको निहुँमा ठकुरी बाबुसापहरुले कुटेरै मारिदिए। उनी जातिवादी समाजको दृष्टिमा अछुत कामी थिए। उनको ज्यान जानुको एउटै कारण त्यही थियो। पसल ठकुरी बाबुसापको थियो। पाहुना आएका बेला चुलो नछुन तिनले सुनारलाई चेतावनी दिए। पाँच वर्षअघि नै छुवाछुतमुक्त घोषित मुलुकमा यस्तो सामाजिक विभेद! पसलजस्तो सार्वजनिक ठाउँमा कसैलाई नआऊ भन्न मिल्दैन। जुनसुकै स्थितिमा होऊन्, मनवीरले विद्रोह गरेर चुलोमा चुरोट सल्काए। ठकुरीसापका दुई ठकुरी पाहुना मीनबहादुर शाही र दीपक शाहीले जातीय अहम् प्रदर्शन गर्दै सुनारलाई कुटेरै मारिदिए।
उच्च जातिवादीको जगजगी रहेको देशमा दलितका लागि बोलिदिने कोही भएन। मधेसी दलको ‘नुन खाएको’ सरकारले निमुखा कामीको पक्षमा त्यसै केही गर्ने कुरा भएन। आफूलाई दलित नमान्ने राजधानीमा मोजमज्जा गरिरहेका दलितले यस्तोमा किन बोल्ने जो स्वयं क्षेत्री, बाहुन बन्ने ताकमा छन्।? दलित संस्थाको नाममा राजधानीमा खुलेका एनजिओहरु पनि विदेशी सहयोगको गुलियोमा भुलिए। यस्तो बेला दुर्गम कालीकोटका दुःखी कामीको हत्यामा कसले बोल्ने? संयुक्त राजनीतिक दलित संघर्ष समितिले हत्या भएको ११ दिनपछि बल्ल प्रधानमन्त्रीलाई स्मृतिपत्र बुझायो जसमा मनवीरलाई सहिद घोषणा र हत्यामा प्रत्यक्ष-अप्रत्यक्ष संलग्नलाई कडा कारबाहीको माग गरिएको छ। त्यो, मागमै सीमित भयो भने अचम्म नमाने हुन्छ।
मनवीर दलित अधिकारका लागि सचेत विद्रोह गर्ने क्रममा मारिएका होइनन्। यस हिसाबले उनलाई सहिद भन्नु अर्को हास्य हो। परन्तु, आपराधिक भिडन्तमा मारिएका शिव पौडेल सहिद घोषित हुन सक्छन् भने जातिवादी सामाजिक व्यवस्थालाई चुनौती दिने मनवीर कामी सहिद हुनु नपर्ने कारण रहँदैन।
धन्य, धर्मभक्त, गंगालाल, शुक्रराज, दशरथ चन्द, सरोज कोइराला, आजाद, दुर्गानन्द झा, यज्ञबहादुर थापा आदि कोही पनि सहिद पदवी खारेजीको माग गर्न आउँदैनन्। बरु, माओवादी जनयुद्धका क्रममा राज्य र माओवादी दुवै तर्फबाट मारिएकालाई सहिद मान्ने घोषणापछि अत्यधिक अपमानबोधले केही सहिद परिवारले सामूहिक आत्मदाहको चेतावनी दिएका थिए। फेरि त्यही स्थिति आउन सक्छ। बुद्धि पुर्‍याउने हो भने दलहरुको राजनीतिक सहमतिमा सरकारले त्यसअघि नै यी सर्वमान्य सहिदलाई बर्खास्त गरिहाल्नुपर्छ। त्यसपछि जसलाई सहिद घोषणा गरे पनि हुन्छ।

One Response to “संकटमा सहिद”

  1. rupa Says:

    After long time blog updated. Keep on sir.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s


Follow

Get every new post delivered to your Inbox.