सगरमाथाको नृत्यमग्न आत्मा

By satyakura

नेपाल प्रज्ञा प्रतिष्ठानको परियोजनाअन्तर्गत नेपाली कला साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ‘सगरमाथाको नृत्यमग्न आत्मा’ नेपाली कविताको महत्वपूर्ण ग्रन्थ हो । मोमिलाद्वारा सम्पादित यस ग्रन्थले नेपाली आधुनिक कविताको सार्थक झलक दिन्छ । कति अर्थमा यो नेपाली कविताको दुर्लभ ग्रन्थ पनि हो ।

आधुनिक कविता केलाई मान्ने यसमा विवाद हुनसक्छ । कतिले लेखनाथ पौडेल त कतिले देवकोटालाई नेपाली आधुनिक कविताको प्रस्थान विन्दू मानेका छन् । मोमिलाले भने नेपाली गद्यकविताका सफल प्रयोक्ता गोपालप्रसाद रिमाललाई मानेकी छन् । यो मान्यता तर्कशील पनि छ । रिमाल नै त्यस्ता कवि हुन् जसले परम्परागत सम्पूर्ण पर्खाल भत्काएर गद्यमा पनि कविताका उत्ताल तरंग दिन सकिन्छ भन्ने सावित गरेका थिए । हुन पनि आजसम्म चेतनाका हिसाबले उनका कवितालाई छुनसक्ने कविता नेपाली भाषामा शायदै लेखिएका छन् । कवितामा क्रान्तिचेत र सुन्दर भाषा रिमालका कविताका खास चिनारी हुन् । उनका उच्च क्रान्तिचेतयुक्त दुई कविता ‘प्रति’ र ‘आमाको सपना’ यसमा समेटिएका छन् ।

ग्रन्थलाई स्रष्टा र सृष्टि प्रतिनिधि आधुनिक नेपाली कविता भनिए पनि यसमा कविताका अन्य रुप गीत गजल मुक्तक हाइकु पद्यकविता समेटिएका छैनन् । यसो हुनुमा आधुनिक कविता भन्नु गद्यकविता हो भन्ने तर्कले काम गरेको देखिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका पद्यकविताका दर्जनौ किताब छन् । तर उनको एउटै गद्यकविता ‘पागल’को वजन कैयन् पद्यकविताको भन्दा बढी हुन्छ । पुस्तकमा उनको यही कविता समेटिएको छ । बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, विजय मल्ल, मोहन कोइराला, भूपि शेरचन, ईश्वरवल्लभ, मदन रेग्मी, वैरागी काइँला, बासु शशी, पारिजातदेखि विमल निभा, मीनबहादुर विष्ट, श्यामल, गोविन्द वर्तमान, विप्लव ढकाल, राजेश्वर कार्की, मोमिला, श्रवण मुकारुङसम्मका कविता छन् । सम्पादकका अनुसार रिमालदेखि २०२५ सालसम्म जन्मेका र चालीसको दसकसम्म स्थापित भइसकेका स्वदेशी र प्रवासी एक सय ३५ कविका कविता यसमा छन् ।

सम्पादक मोमिलाले कति अर्थमा यसमा जोखिम पनि उठाएकी छन् । प्रतिनिधि कविता सामान्यतया कविका अन्य कविताभन्दा चर्चित हुन्छन् । यस मान्यतालाई उनले चुनौती दिएकी छन् । उनको मान्यता चर्चाभन्दा गुणका आधारमा प्रतिनिधि कविताको मापन हुन्छ भन्ने देखिन्छ । वैरागी काइँलाको सबैभन्दा चर्चित कविता ुमातेको मान्छेको भाषण मध्यरातको सडकमाु हो । तर सम्पादकले काइँलाका ुपर्वतु र ‘चिया पिइसकेर उसको घरबाट हिँड्ने बेलामा’ समेटेकी छन् । बासु शशीको ‘बीसौँ शताब्दीको गीत’, मोहन कोइरालाको ‘फसर्ीको जरा’, ईश्वरवल्लभको मेरी आमाले आत्महत्या गरेको देश, मीनबहादुर विष्टको साला पहाड मे क्या है, कुन्ता शर्माको पोथी बास्नु हुँदैन, कृष्णभूषण बलको काठमाडौँ एक्लैले अब काठमाडौँ बोक्न सक्दैन, भूपि शेरचनको ‘हामी’जस्ता सबैभन्दा चर्चित कविताका साटो अन्य कविता समेटिएका छन् । सम्पादकको ध्येय यी कविलाई चर्चित कवितामा मात्र सीमित नगरी तिनका महत्वपूर्ण अन्य कविताप्रति पनि पाठकको ध्यानाकर्षण गराउनु देखिन्छ । विजय मल्लको छोरीलाई मानचित्र पढाउँदा, अविनाश श्रेष्ठको हातमा कालो फूल लिएर उभिएकी नायिकालाई, पारिजातको लाहुरेलाई रोगी प्र्रेमिकाको पत्र ,श्रवण मुकारुङको पुरानो मानिस, विमल निभाको जुम्ला, श्यामलको दसनीको लेहंगाजस्ता चर्चित कविता भने यसमा परेका छन् । मूलरुपमा नेपालभाषामा लेख्ने दुई कवि पूर्णविराम र प्रतिसरा सायमीका कवितामा पनि यसमा समेटिएका छन् जसले संग्रहलाई समावेशी बनाउने प्रयास गरेको छनक दिन्छ । तर अन्य भाषाका कवि यसमा परेका छैनन् । कविताका नाममा मालपोत अड्डामा बुझाइने निवेदन स्तरका कखरा लेख्ने कविहरुले आफूलाई प्रतिनिधि कवि घोषित गर्दै स्टन्टवाजी र गुटवादी प्रचारप्रसार गरिररहेका बेला मोमिलाले यस प्रवृत्तिलाई कडा चुनौती दिएकी छन् । प्रतिनिधित्वमै केही प्रश्न उठ्नसक्ला तर उनले सकेसम्म कसैलाई अन्याय हुन नदिने प्रयास गरेकी छन् ।

कविको प्रतिनिधित्वका लागि मात्र नभई यो किताब ती कविका सामान्य विवरण कविता र आफैँप्रति कविका धारणा र सम्पादकको टिप्पणीका कारण पनि महत्वपूर्ण छ । यसमा डा। लक्ष्मणप्रसाद गौतमको आधुनिकता र आधुनिक नेपाली कविता शीर्षकको महत्वपूर्ण लेख समेटिएको छ जसमा विश्वको आधुनिक कवितादेखि नेपाली कविताको इतिहास र वर्तमानबारे सूक्ष्म वर्णन छ ।

साहित्य र संघर्ष मोमिलाका अभिन्न अंग हुन् । यस्तो लाग्छ यीबिना उनको आयतन अपूर्ण हुन्छ । कविता र निबन्ध उनको सिर्जनाका प्रमुख विधा हुन् । समालोचना सम्पादन र साहित्यिक सकि्रयता उनका अतिरिक्त समर्पण हुन् । खासमा साहित्य उनको जीवनकै अर्को नाम हो । उनी पुगेका हरेक ठाउँबाट साहित्यको सेवामा उल्लेख्य कामहरु भएका छन् । नोबेल एकेडेमीबाट उनले साहित्यिक वार्षिकी ‘नोबेल’ सम्पादन गरिन् भने अर्को शैक्षिक संस्थाबाट ‘कलाश्री’ । दुवै पत्रिका नेपाली साहित्यका अब्बल प्रकाशन मानिएका छन् । दुवैले विशिष्ट साहित्यकारलाई सम्मान तथा पुरस्कार पनि दिएका छन् । हाल उनी नेपाली कला साहित्य प्रतिष्ठानमार्फत साहित्यका फाँटमा उल्लेख्य गतिविधि गरिरहेकी छन् । ‘सगरमाथाको नृत्यमग्न आत्मा’ यिनै गतिविधिको सफल परिणाम हो । यसको अंग्रेजी संस्करणको तयारी भइरहेको छ भने चाँडै नै यसको दोस्रो भाग पनि आउँदैछ जसमा नयाँ पुस्ताका प्रतिनिधि कविका कविता समेटिने छन् ।

3 Responses to “सगरमाथाको नृत्यमग्न आत्मा”

  1. Sharada Shrestha Says:

    Chanky dai, thank you for the iformation. Where can we get this book to buy ?

  2. Raman Says:

    I have read Momila’s some of the articles. She is really beautiful and smart as well as her writing.

  3. Ranjana Adhikari Says:

    Ramro. Momila is a strugging lady. I salute her.

Leave a Reply