चंकी श्रेष्ठ ‘अभय’
विगत पाँच वर्षदेखि म त्यो केटीको खोजीमा थिएँ । मेरी पूर्व प्रेमिका…॥ । नढाँटी भन्छु म त्यसको हत्या गर्न चाहन्थेँँ ।
मेरो जीवन त्यस्तो विलखबन्द यात्रा थियो जसको वरिपरि केवल भीर थियो र प्रतिगमनको म जन्मजात शत्रु थिएँ । म बारम्बार एउटै कुराले उत्पीडित थिएँ र त्यो मेरो जन्मसँगै अभिन्नरुपमा टाँसिएर आएको जातीय पीडा थियो । गरिवी त त्यसको अभिन्न अंग छँदै थियो । त्यसले मानौ व्यक्तित्व नै धारण गरेर मसँग दुश्मनी गरिरहेको थियॊ । प्रेममा विश्वासमा यात्रामा मनोविज्ञानमा र जीवनका हरेक पाइलामा चुनौती दिइरहेको थियो र मलाई पराजित पनि गरिरहेको थियो ।
मेरा साथीहरु त प्रशस्त हुन्थे तर तिनको भीडमा म नितान्त एक्लो हुन्थेँ । त्यसैको फाइदा उठाएर त्यो डिप्रेसनकै पाजा फिँजाएर मेरो घाँटी निमोठिरहेको हुन्थ्यो ।
मलाई दिमागभित्रबाट बारम्बार कसैले आत्मघातका लागि उक्साइरहेझैँ लाग्थ्यो । त्यो मेरो कानमा एकोहोरो घन्टी बजाइरहेको हुन्थ्यो मानौ म आफैँसँग भनिरहेको हुन्थेँ मेरो जीवन हारेको जीवन हो । त्यसपछि मेरो किलकिले थिच्दै त्यो भन्थ्यो तँ मेरो युद्धबन्दी होस् यस कारण म तँलाई मनलागी यातना दिन्छु ।
म त्योसँग विद्रोह गरिरहेको हुन्थेँ र बारम्बार त्यसको बन्धनबाट मुक्त हुन छट्पटाइरहेको हुन्थेँ । अन्त्यमा त्यो मेरो छातीमा एसएलआर तेस्र्याउँथ्यो र मारिदिने धम्की दिन्थ्यो । पछि थाहा हुन्थ्यो त्यो त मेरो चिरप्रतिद्वन्द्वी उही जात नै हुन्थ्यो ।
डाक्टर देखाउने हैसियत हुँदो हो त आधुनिक चिकित्सा विज्ञानले मलाई सिजोप्रुेनिक वा यस्तै केही भनिदिनसक्थ्यो । हिमवत् खण्डको हाम्रो महान् समाजशास्त्रले बनाएको सिजोप्रुेनिक ! यो एउटा नामी हास्यको विषय हुनसक्थ्यो । गरिवी मलाई पुस्तेनी सम्पतिका रुपमा प्राप्त थियो र बेरोजगारी त मेरो आफ्नै जातिगत सम्पति छँदै थियो । हाम्रो देशमा लोकतन्त्र आए पनि ढोकतन्त्रप्रेमीहरुको जुन प्रशासन थियो त्यसले मलाई जीवनभरि नै बेरोजगार राख्ने खतरा सत प्रतिसत बढेर गएको थियो । त्यसमाथि देशले जातीय असमानताको नाका भत्काइदिए पनि समाजले यसलाई अक्षय पैतृक पुँजीका रुपमा सुरक्षित राखेको थियो । जातकै कारण म झण्डै एक दलित युवकको नियति भोगिरहेको थिएँ । हो जातीय पीडाकै कारण सम्भवतः म संसारकै सबैभन्दा दुःखी युवक थिएँ र त्यो दुःखी युवक डाक्टर देखाउने हैसियतमा थिएन ।
मेरी प्रेमिका हाम्रो समाजमा उँचो जातकी थिई र प्रचलित समाजशास्त्रलाई चुनौती दिँदै मसँग प्रेम गरिरहेकी थिई । राम्री र मायालु त भन्नै पर्दैन किनभने ती प्रेमीका आँखा थिए । ऊ सिनेमाकी कुनै नायिकाजस्तै सानदार र आकर्षक व्यक्तित्वयुक्त थिई र प्रेमको मामलामा केही आक्रामक पनि । स्पष्ट थियो मजस्तो सुदामा टाइपको प्रेमीबाट ढुक्क थिई र त्यहाँ खलनायकको सिनेम्याटिक कुनै रोल हुनसक्दैनथ्यो ।
प्रेम त त्यसलाई त्यतिकै गर्थेँ तर अगाडि बढ्न हच्कन्थेँ । जातीय पीडा जति नै भोग्नुपरे पनि त्यस्तो आधुनिक युवक जो प्रेम र अनुरागका अनेक आयामसँग साक्षात्कार गरिरहेको छ प्रेमिकाको आक्रामकतासँग किन डराउँछ म अक्सर सपना देख्थेँ प्रेमिका मसँग प्रेमको याचना गरिरहेकी हुन्थी । जवाफमा म कमजोर वाणीविहीन र निरुपाय हुन्थेँ । यही मौका छोपेर मेरो जात मविरुद्ध उचाल्दै उसलाई भनिरहेको हुन्थ्यो ुत्यस्तो मानिसलाई तिमी प्रेम गरिरहेकी छ्यौ जो प्रेमका लागि किःमार्थ योग्य पात्र होइन ।ु के मेरै जात मविरुद्ध यति ठूलो षड्यन्त्र गरिरहेको थियो प्रेमिका ऊप्रति आश्वस्त देखिन्थी र उडन्ते सिनेमाको प्लटमा जस्तै मबाट एक्कासि टाढिएर उसको नजिक हुन्थी । दुश्मन कति शक्तिशाली हुन्थ्यो भने उसका विरुद्ध मेरो एउटै प्रतिकि्रया हुन्थ्यो मौनता केवल मौनता ।
……………….
यस्तैमा त्यो दुर्घटना भएको थियो । के भएको थियो सहरको नामूद गुण्डाले प्रेमिकालाई बलात्कार गरेको खबर सहरभरि फैलियो । के मेरो सपना विपनाकै पूर्वाभास थियो
मलाई आफू उभिएको जमिन भासिएको अनुभूति भयो । म अर्को भीषण उत्पीडनको तलाउमा खसेको थिएँ । गरिवीको उत्पीडन अब केही थिएन । प्रतिशोधको भावनाले म कतिसम्म उम्लिएँ भने मेरो जीवनको एउटै लक्ष्य गुण्डाको हत्या गर्नु भयो । सजिलो त यो काम छँदै थिएन एक निहत्था युवकले सहरकै नामूद गुण्डाको हत्या गर्नु । शेक्स्पियरको वियोगी नायक ह्याम्लेटजस्तै आफ्नै बर्बादी निम्त्याउन अब म तयार थिएँ ।
म निकै सावधानीसाथ कम्मरमा आठ इाचको छुरी भिरेर त्यसको हत्या गर्न हिँडे । राति त्यो एक्लै हिँड्ने गल्लीमा ढुकेर बसेँ । यो कस्तो पत्याइनसक्नु दृश्य थियो मेरी प्रेमिका हाँसीखुसी त्यसैसँग अंकमाल गरेर आइरहेकी थिई । मलाई आफ्नै आँखामाथि विश्वास भएन । के यो अर्को दुस्वप्न थियो प्रेमिकाको बलात्कार अहिलेसम्म पनि म दुस्वप्न ठान्ने गर्छु र बारम्बार त्यो दुस्वप्नमात्र होस् भन्ने कामना गर्छु । मैले आँखा मिचेर हेरेँ अहँ त्यो सपना थिएन । आफैँलाई चिमोटेँ हकारेँ त्यो कटु विपना नै थियो ।
मेरो उद्देश्य गुण्डाको हत्या गर्नु थियो । जेसुकै होस् पहिले यसलाई सिध्याउँछु त्यसपछि मात्र छिनोफानो गर्छु । म दृढ भएँ । मौका ढुकिरहेको चितुवाजस्तै त्यसमाथि आक्रमण गरेँ । प्रेमिका आँत्तिएर मृगजस्तै उछिट्टिई । गुण्डा फेला पर् यो । दृश्य यस्तो प्रतीत हुन्थ्यो गुण्डा अब सज्जन भएको छ मचाहिँ गुण्डा भएको छु । म आक्रमण गरिरहेको थिएँ र त्योचाहिँ प्रतिरक्षामात्र गरिरहेको थियो । त्यो सहरको नामूद गुण्डा थियो र मल्लयुद्धको अनेक जुक्ति जान्दथ्यो । त्यसमाथि सारा सहरबासीलाई लुटेर शारीरिकरुपले पनि निकै तन्दुरुस्त भएको थियो । एउटै कुरा त्यसले प्रतिरक्षामात्र गर् यो नत्र त्यतिन्जेल मलाई सिध्याउन पक्कै ऊ सफल हुन्थ्यो ।
यस्तो प्रेमकथा कस्तो भनूँ मिलान कुन्देराको प्लटजस्तो प्रेमिकाका लागि म ज्यान बाजी लगाइरहेको थिएँ तर त्यो मैमाथि थुकिरहेकी थिई ।
मसँग अब कुनै शब्द थिएन । मलाई लाग्यो प्रेमिकाले मलाई मेरो निम्छरो जातकै कारण धोका दिएकी थिई र त्यो बलात्कार तिनीहरुकै मिलीमतोमा प्रायोजितरुपमा भएको थियो । मेरो प्रतिशोध एकाएक गुण्डाबाट प्रेमिकातर्फ सर् यो । प्रष्ट थियो यो मेरो जातीय अस्मितामाथि अर्को जब्बर असहिष्णु प्रहार थियो । मैले तत्काल त्यसमाथि आक्रमण गरेँ । अब गुण्डाको ठाउँमा म थिएँ र मेरो ठाउँमा गुण्डा थियो । हाम्रो भूमिका अघिल्लो दृश्यबाटै फेरिएको थियो । त्यसले मेरो पाखुरा परक्क बटारेर मर्काइदियो र प्रेमिकालाई सुरक्षा दियो । त्यसपछि प्रहरी बोलाएर मलाई पक्राइदियो । हेर्नुस् त एउटा गुण्डो उसैबाट पीडित मान्छेलाई गुण्डा सावित गर्छ र प्रहरी बोलाएर पक्राइदिन्छ । म आफूलाई त्यो संघारमा पाउन थालेँ जहाँ विडम्बनाकै सिमाना सकिन्छ तर त्यसको शृंखला कहिल्यै सकिन्नँ ।
…………..
म दुई वर्ष थुनामा परेँ । मेरो इमान्दारीको कदरस्वरुप तोकिएको समयभन्दा दुई महिनाअघि छुटेँ । तर दुनियाँलाई के थाहा मेरो जीवनको एकमात्र लक्ष्य फेरि पनि प्रेमिकाकै हत्या गर्नु थियो !
एउटा कुरा म आफ्नो जातीय पहिचानविपरीत जन्मजातै अिहंस्रक प्रवृत्तिको थिएँ । कतिसम्म भने उधुमै सताइरहेको िझंगा मार्न पनि हच्कन्थेँ । अाजानमा जब मबाट कीरा-फट्याङ्ग्रा मारिन्थे लामो समयसम्म पश्चातापले मलाई सताइरहन्थ्यो । केटाकेटीमा मैले कुखुराको एउटा चल्लो कुल्चिँदा त्यो आन्द्राभुँडी र कलेजो बाहिर निकालेर तत्काल मरेको थियो । त्यो पापबोधले पाँच दिन ज्वरोले थलिएँ । अहिलेसम्म पनि त्यसका लागि बारम्बार आफूलाई धिक्कार्छु । हेर्नुस् त यो समाज त्यही मानिसलाई हत्याराको सर्टिफिकेट दिन तम्तयार छ !
प्रेमिका कहाँ थिई के गर्थी मलाई केही थाहा थिएन । कसैले सूचना पनि दिँदैनथ्यो दुनियाँलाई थाहा थियो त्यसमाथि आक्रमणकै कारण म थुनामा परेको थिएँ । म उसलाई खोज्दैखोज्दै निकै भौतारिएँँ ।
दुर्भाग्य मेरो जीवनमा शरीरकै अभिन्न अंगजस्तो थियो । आमाले मलाई जन्म दिइन् मानौ कत्र्तव्य पूरा भयो र बितिन् । बाबु दीर्घ रोगी जो मेरो पूर्वकिशोर उमेरमै बितॆ । म दिदीको ममतामा हुर्किएँ । तिनले धेरै दुःख गरेर मलाई पढाइन् । म होनाहार भएर धेरैका लागि प्रेरणाको स्रोत बनिरहेको थिएँ । दुर्भाग्य हेर्नुस् एक दिन चोर डाँका गुण्डा वा हत्याराजस्तै थुनामा परेँ । दिदी असाध्यै दुःखी भइन् । भाइलाई ठूलो मान्छे बनाउने सपना थियो । त्यो यो अन्यायमूलक राज्यको पांग्रामुनि धूलिसात भएको थियो । अब के विकल्प बाँकी थियो दिदीको जीवनमा एक दिन सुनँे यो अन्यायमूलक राज्यलाई धूलिसात पार्ने प्रणसहित दिदी ुजंगलु छिरिन् ।
दुर्घटना मेरो जीवनमा एकपछि अर्को क्याराभान बनेर आइरहेको थियो । चाँडै नै एक दिन अर्को दुःखद् खबर आयो शत्रुको गोली लागेर अनकण्टार घोप्टेभीरमा दिदीले वीरगति प्राप्त गरिन् । कठै दिदीको अवशेष कतै प्राप्त भएन रे ! के मेरो जीवन दुर्घटनाहरुको विश्वसंग्रहालय थियो म पौने छ अरब मानिसको संसारमा नितान्त एक्लो भएर बाँचिरहेको थिएँ । तपाईँलाई थाहा छ यति एक्लो र अभागी त निर्जीव ढुंगा पनि हुँदैन ।
मेरो जीवनमा अब के बाँकी थियो त अब त प्रेमिका भेटिन्छे भन्ने कुरामै लगभग निराश थिएँ । के गरुँ
…………….
र एक दिन……… त्यो दिन आयो । मैले उसलाई बीच बजारमा भेटेँ । त्यो सर्लक्क दुब्लाएकी थिई । आँखामा अभिन्न उदासी थियो । तर उत्तिकै व्यक्तित्वयुक्त राम्री र चमकदार ।
त्यसको सौन्दर्यमा मुग्ध हुनु र पूर्व सम्बन्ध सम्झेर भावुक हुनु घाटा थियो । म सधैँ कम्मरमा आठ इन्चको छुरी बोकेर हिँड्थेँ । जब भेट्छु आफ्नो लक्ष्य पूरा गर्छु । म सजग भएँ जति ढिलो गर् यो त्यति घाटा थियो । तर असनको भीडमा थिई । म त्यसलाई पछ्याउँदै हिँडिरहेको थिएँ । कहिले त्यो झुलुक्क देखिन्थी कहिले टाउकोमात्र देखिन्थ्यो । उसले नदेखोस् भनेर मानिसहरुको छेको लाग्दै हिँडिरहेको थिएँ । एकपल्ट उसलाई हातैले भेट्ने दूरीमा पुगेँ र कम्मरमा घुसारेको चक्कु स्पर्श गरेँ । झस्किएँ । यत्रा मानिसको भीडमा आक्रमण गर्ने साहस भएन । केही क्षण चुपचाप उभिइरहेँ । ऊ पर पुगिसकेकी थिई । जिन्दगीभरि म हरेक पाइलामा यसैगरी चुकिरहेको थिएँ । तत्काल हत्या गर्ने मौका गुम्दै गएकोमा मैले आफैँलाई हकारेँ ।
अब ऊ निकै कम चहलपहल भएको बाटोमा पुगी । गोविन्द गोठालेकॊ पात्रजस्तै म उसको पछिपछि त थिएँ तर किन हो दिनको प्रकाशमै हत्या गर्ने साहस भएन । मेरो हृदय र दिमागबीच बारम्बार द्वन्द्व चलिरहेको थियो । दिमाग भन्थ्यो द्विविधा नै तेरो जिन्दगीको असफलताको जरा हो अतः लक्ष्य प्राप्त गर्नु छ भने तुरुन्त आक्रमण गर । हृदय भने आनाकानी गरिरहेको थियो । मेरो चेतनशील दिमाग सधैँ भावुक हृदयसँग पराजित हुन्थ्यो । होस् म यसको हत्या एकान्तमै गर्छु हत्याको ग्ल्यामर वास्तवमा एकान्तमै प्राप्त गर्न सकिन्छ ।
ऊ गाडी चढी । ढोकानजिकै खाली सिटमा बसी । उसलाई के थाहा उसैलाई छुरी रोप्ने मौका खोज्दै एउटा युवक जो उसकै पूर्व प्रमी हो निरन्तर पछ्याइरहेको छ ! म पनि गाडी चढेँ र पछाडि गएर उभिएँ । एकै छिनमा गाडी प्याक भयो । दुवै हातमा गह्रौँ झोला बोकेकी डालिली शरीरकी एउटी युवती मेरो पिठ्यूमा आफ्ना भारी स्तन दबाएर उभिई । यस्तो स्थितिमा कुनै युवक कति रोमािाचत र उत्तेजित हुन्छ भन्ने थाहा छ । सबै थाहा छ तर म त शितांग थिएँ । ममा त्यसको कुनै प्रभाव परेन । यति थाहा छ कोटेश्वर पुगेपछि त्यो ओर्ली ।
म पछाडिको खाली सिटमा बसेँ । कुलेश्वरतिरबाट आएको टेम्पोबाट हतारहतार झरेर प्लस टु पढ्ने दुई नवयुवती खाली सिटमा मसँग टाँस्सिएर बसे । तिनका प्रुक घुँडाभन्दा कति माथि थिए भने सेता पुष्ट तिघ्रा झलझलाकार देखिन्थे । अग्लो सिटमा त्यसरी बस्दा तिनको हालत कस्तो हुन्छ तपाईँ प्रष्ट अनुमान गर्न सक्नुहुन्छ । वरिपरिका युवक सायद मप्रति इष्र्या गरिरहेका थिए । के म यो सिट तिनका लागि छाडिदिऊँ तिनीहरुका लोभी आँखा बारम्बार नवयुवतीका शरीरका त्यही भागमा पर्थे । अन्ततः झोलाले छेकेर तिनीहरु आफ्नो सुरक्षाको असफल प्रयास गर्न थाले । यो दृश्यले पनि मलाई कुनै उत्तेजना दिएन । के म ढुंगा भइसकेको थिएँ सायद प्रेमिकाको हत्या गर्ने उद्देश्यबाहेक मेरा सबै उत्तेजना मृत भइसकेको थिए ।
प्रेमिका बसेकी सिटको छेउ खाली भयो । एउटा भुँडे अद्भैँसे ऊसँग टाँसिएर बस्यो । प्रेमिका अलि भित्तातिर कोच्चिई । त्यो उसलाई निकै अभद्र तरिकाले लोभिएर हेर्न थाल्यो । त्यो पक्कै उसको रहरलाग्दो शरीर कागतीजस्तै निचोर्न चाहन्थ्यो जुन यो भीडमा सम्भव भएन । यस कारण उठ्दा हातमा स्तनको दबाब पर्नेगरी उसको अगाडि डण्डीमा हात तेस्र्यायो । अद्भैँसेको चर्तिकलाले पनि मलाई कुनै प्रभाव पारेन ।
झण्डै बाह्र किलोमिटरको यात्रापछि ऊ उठी र निकै संयमित तरिकाले अद्भैँसेको तेसर्िएको हातबाट आफ्ना स्तन जोगाई । दुवै हातमा गहाँै्र झोला झुण्ड्याएर ऊ दक्षिणतिर लागी । के म उसलाई सघाइदिउष अहो मलाई यो के भएको के ऊ अझै मेरी मायालु प्रेमिका हो र ऊ त मेरो जीवनकै सबैभन्दा ठूलो र एकमात्र शत्रु भइसकेकी थिई ! यस्तो चालाले जीवनमा अर्को एक पल्ट फेरि म आफ्नो लक्ष्यमा असफल हुनसक्छु । मैले फेरि एक पल्ट आफैँलाई हकारेँ । ऊ गाउँतिर जाने गाडी चढी । सिटमा बसेर ऊ रातो कपाल भएकी किशोरीसँग गफ गर्न थाली । किशोरी प्लस टु पढ्ने रैथाने छात्रा भएकी अनुमान उसको युनिफर्म र कुराकानीबाट सजिलै गर्न सकिन्थ्यो । त्यो बातैपिच्छे पूरै यात्रुको ध्यानाकर्षण हुनेगरी झर्ना छङछङाएझैँ हाँस्थी । दुवै जना अन्तिम विसौनीमा ओर्लिए । केही क्षणपछि छात्रासँग छुट्टिएर ऊ पश्चिमतिर लागी । म लगातार उसको पिछा गरिरहेको थिएँ ।
प्रेमिका कोठेबारी र सानो बगैँचा भएको चिटिक्कको घरभित्र छिरी । अहा बगैँचामा गुलाब सेतो कमल गोदावरी र ड्याफोडिल ढकमक्क फुलेका थिए । पहिला ऊ फूल चुँड्नमात्र रुचाउँथी अब फूल सजाउन पनि जानिछ । के साँच्चै अब ऊ परिपक्व भएकी थिई ऊ भुइँतलाको दक्षिणपट्टि कोठाको झ्याल खुलै राखेर कपडा फेर्न थाली । उसले मलाई देखी । मेरो सास टक्क रोकिएलाझैँ भयो । के उसले मलाई चिनी सायद चिनिनँ । पक्कै उसले मलाई एउटी युवतीले कपडा फेरेको हेरेर आनन्द लिने गुण्डो आवारा सम्झेकी हुनुपर्छ । त्यसैले झ्यालको खापा अलि घर्काई । म पाइलैपिच्छे मौका गुमाइरहेको थिएँ । अब के गर्ने म निकै बेर अलमलिएँ । दिउँसो मेरो योजना असफल पनि हुनसक्थ्यो । आक्रमणअघि नै उसले मलाई देखी भने पक्कै चिच्चाउनेछे । त्यसपछि गाउँलेहरुले मलाई बाँकी राख्लान् म फेरि थुनिनेछु अनि लक्ष्य पूरा गर्न नसकेको मानसिक तनावले चाँडै नै मर्नेछु ।
सोचेँ मध्यराति ढुक्कले यसको हत्या गर्छु । नजिकै चौतारोमा चुनावी आमसभा भइरहेको थियो । संसारमा गरिबको राज्य छैन भन्छन् तर पनि यो देशमा ल्याउने हाम्लाई मन छ जीवन शर्माको गीत माइकमा बजिरहेको थियो र स्वरमा स्वर मिलाउँदै नेता-कार्यकर्ता नाचिरहेका थिए । यो देशमा सर्वहाराको राज्य स्थापना कसरी हुनसक्छ गीत र नाच सकिएपछि हँसिया-हथौडा अंकित रातो क्याप लगाएको नेता व्याख्या गर्नथाल्यो । त्यहाँ सबैलाई गाँस बास कपासको व्यवस्था हुन्छ । कोही ठूला हुने छैनन् कोही साना हुने छैनन् सब बराबर । उसको बातैपिच्छे हँसिया-हथौडा अंकित झण्डा बोकेका कार्यकर्ताहरु ताली पिट्थे । ताली बजुन्जेल नेता चुप लाग्थ्यो र फेरि आँैला ठड्याई-ठड्याई उर्लिएको खहरेजस्तै स्वरमा भाषण दिन थाल्थ्यो ।
म त्यहाँ धेरै बेर टिक्न सकिनँ । मेरो मन कतै पनि स्थिर रहन सक्दैनथ्यो । म दिनभरि नजिकैकै जंगल र खोलाकिनारमा भौतारिएँ । गोठाला केटाकेटी मलाई देखेर अचम्म मानिरहेका थिए । घाँस र पत्करको भारी बोकेर घर फर्कन लागेका युवतीहरु मलाई देखेर झसंग हुन्थे । के मेरो रुपरङ त्यति डरलाग्दो भइसकेको थियो के मेरो बेहाल रुपकै कारण प्रेमिकाले मलाई नचिनेकी हो वास्तवमा मैले ऐना नहेरेकै जुग भइसकेको थियो । माथि सल्ला सुसाएको र तल रुखका हाँगा भाँचिएलाझैँ गरी हुरी चलेको वातावरणबीच म निकै अबेरसम्म जंगलमा भौतारिइरहेँ ।
राति ११ बजे गाउँ सुनसान थियो । म उसको घरपरिसरको पर्खाल नाघेर भित्र छिरेँ । दक्षिणतिरको झ्याल अझै खुला थियो । कोठामा मधुरो बत्ती बलिरहेको थियो । झ्यालसँगै जोडिएको खाटमा सफा तन्ना ओछ्याइएको र सिरक गोलो पारेर सिरानमाथि राखिएको थियो । भित्र बच्चा रोइरहेको सुनिन्थ्यो ।
म एकछिन उदास भएर भित्रतिर हेर्न थालेँ । प्रेमिका वा गुण्डा कतै देखिएनन् । हातमा टर्च थियो जसको आवश्यकता अहिले थिएन । कम्मरमा भिरेको छुरी निकालेँ ।
प्रेमिका देखापरी । मेरो सास फेरि टक्क अडिएझैँ भयो । त्यसको पिठ्युमा एउटा बालक रोइरहेको थियो सायद ज्वरोग्रस्त थियो र काखमा सानो बच्चा दूध चुसिरहेको थियो । ऊ ती दुवैलाई झुलाएर फकाइरहेकी थिई । कति मायालाग्दा बालकहरु थिए ! म त टोलाएर एकोहोरो हेरेको हेर् यै भएँ । हरे एकाएक यो मलाई के भयो मेरा आँखाबाट बरर्र आँसु झरे । भक्कानै फुट्लाजस्तो भयो । मलाई आफ्नै बाल्यकाल प्रत्यक्ष भएझैँ लाग्यो । दिदी मलाई हरदम यसैगरी बोकेर हिँड्थिन् । मेरै लागि तिनले कतिकति दुःख झेलिन् । खासमा ती मेरी आमाभन्दा कैयन् गुणा बढी आमा थिइन् । मायाकी प्रतिमूर्ति ती दिदीलाई कहाँ भेट्नु मैले अब
धक्का मुटुमै यसरी पर् यो म त थरहरी हुनथालेँ कतै मेरो इहलीला यहीँ नसकियोस् ।
……….
मेरो हातबाट छुरी खस्यो र छिनमै म शितांग भएँ । त्यो दृश्यमा हरेक नारीलाई म त ममताकी प्रतिमूर्ति देख्न थालेँ । त्यसैका लागि दानवीर शत्रुले जस्तै मैले त्यसलाई ज्यान माफी दिएँ ।
प्रेम सेवा बलिदान पुण्य निरर्थक कृतज्ञता सायद मेरो निम्छरो जातित्वमै थियो । सायद त्यसैले मैले आफ्नो चिर योजना विगतका असफल सपनासँगै छाडिदिएँ । म भन्न सक्दिनँ तर प्रतिदानरहित प्रेम सायद मेरो रगतमै थियो…॥र सायद म अझै त्यसलाई एक अदृश्य प्रेमीले जस्तै प्रेम गर्थेँ ।
म त्यहाँबाट बाढीजस्तै निस्किएँ र अँध्यारो चिर्दै्र हिँडेँ । मभित्र अब कुनै आक्रोश थिएन । आक्रोश रित्तिएपछि मान्छे प्रतिकूल वातावरणबाट पीडित हुन्छ । म दुई दिनदेखि भोको थिएँ । त्यसमाथि तिर्खा थकाइ र जाडोले घेरा हालेर आक्रमण गरिरहेका थिए । पन्ध्र प्रतिशत ढल्न बाँकी रुखजस्तै ढल्ने समय टारेर म छिटोछिटो हिँडिरहेको थिएँ । चिसो बतास र खोलाको सुसेली अनि टाढाबाट आइरहेको कुकुरको एकोहोरो भुकाइले वातावरण टिठलाग्दो थियो ।
दाहिने खुट्टा कतै जोडले ठेसियो र मेरो मुख एउटा ढुंगामा जोडले ठोक्कियो । निधारबाट नाकको डाँडी हुँदै मनतातो रगत छातीतिर ओर्लियो । …………… ……………………। ……………………॥ प्रेमिकासामु किन हो म कृतज्ञ भएर उभिएको थिएँ । प्रेमिका उदास नजरले मलाई हेरिरहेकी थिई । पश्चातापले उसको हृदय उत्तीसको गिण्डोजस्तै चिरिएर दुई फ्याक भएको थियो । त्यसलाई मैले जतनसाथ फर्काएँ । मभित्र अब जीवनको सुन्दर संगीत झंकृत भइरहेको थियो । पूर्वतिरको क्षितिज हल्का रातो हुँदै गएको थियो । मधुरो रंगीन उज्यालोबाट प्रकट भएर दार्शनिक सुकरात मसँग हात मिलाउन यतै आइरहेका थिए । अहो प्यारा सुकरात यो दर्शनको अपेक्षा मैले सपनामा पनि गर्न पाएको थिइनँ । उनलाई स्वागत गर्न मुस्कुराउँदै मैले दुवै हात फैलाएँ ।
…………..
March 5, 2009 at 6:03 pm |
No word to appreciate the story. Very very very touching.
March 6, 2009 at 4:37 am |
very touching!
March 7, 2009 at 5:39 pm |
Dai, maile yeti marmik katha sanchi ahile samma padheko chhaina. Congratulations.
March 7, 2009 at 5:41 pm |
Diabolically marvellous and marvellously diabolical. Keep up.
March 11, 2009 at 4:50 pm |
Sir, Kati ramro ho katha. Maile yeti ramro katha ajasamma padheko thiena. Dhanya bad derai dherai.
March 11, 2009 at 4:56 pm |
Very excellent.
March 11, 2009 at 4:58 pm |
I liked this story very much.
March 12, 2009 at 4:35 am |
Friend,
I appreciate your writing skill. You need no introduction in this field of writing. Best Wishes!
Regards, Chandra Gurung
March 16, 2009 at 9:48 am |
Really nice..
My heart was pumping fast while i was reading this story…
Keep it up
March 16, 2009 at 10:44 am |
सर! अब म तपाईंको फ्यान भनिसके पछी तारिफ गरौ कि नगरौ? हरेक कथा र कबिता मलाई प्रिय छन्।
March 16, 2009 at 1:17 pm |
keep it up coming future.
March 17, 2009 at 7:37 am |
merai katha lekhidie jasto lagyo. thank you very much.
March 31, 2009 at 7:29 am |
dear all, i’m grateful to you all. thank you a lot.