Chittaun Kacheheri: Platform of alternative ideas

May 16, 2023

By A Staff Reporter

Narayangadh, May 15

The first edition of Chitwan Literature Festival, which was titled Chittaun Kacheheri, was proved to be a forum for alternative ideas.

Held in Narayani Kala Mandir, Narayangadh, the two-day festival had presented Dilip Mahato’s father Ram Jiban Mahato and younger sister Laxmi Mahato as the speakers among others at the session titled ‘The long journey of fight for the justice’. A conservation activist, Dilip had been protesting against illegal mining of Aurahi riverbed material in Dhanusha. He was brutally killed by crusher operators and agents on 10 January, 2020.

‘The nation must listen when the speechless people begin to speak,’ Ram Jiban said.

Anita Chepang, Aitimaya Chepang, Santosh Bot and Hiradevi Chaudhari were other speakers of the same session who had suffered in the name of conservation of Chitwan National Park. Their stories of sufferings left the audience speechless.

Rupa Sunar, Bikash Biswakarma, Shivahari Gyawalia and Manoz Lohar spoke on the tyranny of caste system while Sanjaya Mahato, Gyan Bahadur Bote, Indu Tharu and Sunimaya Chepang expressed their views at the session titled ‘Where were indigenous people left in development ?’.

Read the rest of this entry »

अन्ना कारेनिनाको विद्रोही प्रेम

January 27, 2023

लियो तोल्सतोयको अमर पात्र अन्ना कारेनिनाबारे मनीष आजादको नाममा ह्यासट्याग गरिएको एउटा कविता फेसबुकमा निकै चर्चित छ । कविताअनुसार, समाजमा फेरि कोही अन्ना बन्ने कोसिस नगरून् भनेर तोल्सतोय लेख्न बस्छन् । तीस पृष्ठ लेख्दा–नलेख्दै अक्षरबाट फुत्त प्रकट भएर अन्ना उनको सामु उभिन्छे ।

‘मप्रति तिमी किन यति कठोर छौ तोल्सतोय ?’ अन्ना सोध्छे ।

उनको जवाफ सीधा हुन्छ, ‘तिमीले बेइमानी गर्‍यौ ।’

‘कोसँग ?’

‘पति कारेनिन र समाजसँग । प्रेमी ब्रोन्स्कीका लागि तिमीले आफ्नै बच्चा छाडिदियौ । अनि तिमीप्रति म कसरी नरम बनूँ ?’

अन्नालाई यस्तो सुन्ने बानी परिसकेको थियो । अनुहारमा कुनै भाव प्रकट नगरी उसले प्रतिप्रश्न गरी, ‘बेइमानी के हो ? प्रेम के हो ? समाजको अर्थ के हो ?’ यसमाथि तोल्सतोयले आफ्नो बोझिलो दर्शन छाँटिदिए । अन्नालाई कुनै प्रभाव परेन । उसले भनी, ‘एक स्त्रीलाई के चाहिन्छ ? प्रेम र सम्मान । ब्रोन्स्कीले मलाई दुवै कुरा दियो । त्यसैले पतिलाई छाडेर म ऊसँग गएँ ।’

‘अनि आमाको कर्तव्य ?’ लेखकले सोधे ।

अन्नाले भनी, ‘कारेनिनले मेरो बच्चा मबाट खोसेको थियो । म आमा मात्र थिइनँ एक स्त्री पनि थिएँ । स्वतन्त्र स्त्री, प्रेम र आत्मसम्मानकी प्यासी ।’

‘तर, ब्रोन्स्कीले पनि त तिमीलाई धोका दियो । तिमीले के पायौ त ?’

‘यो कुरा तिमी ब्रोन्स्कीलाई नै सोध । मैले त मात्र निश्छल प्रेम गरेकी थिएँ ।’

‘अनि समाजमा यसरी नैतिकताको के हालत हुन्छ ?’

अन्ना अब उत्तेजित भई । ‘तिम्रो समाजमा नैतिकताका नाममा स्वतन्त्र स्त्रीको, उसको प्रेम र सपनाको सदैव घाँटी थिचिन्छ जसरी मेरो थिचियो । मेरो घाँटी थिचेर समाजको नैतिकता बच्यो ? साँच्ची भनूँ भने मैले केवल प्रेम गरेकी थिएँ, प्रवाहमय नदीजस्तै निश्छल प्रेम । भैगो, छाडौँ यी कुरा । बरु तिमी भन, मेरो ठाउँमा तिमी भएको भए के गर्थ्यौ तोल्सतोय ?’

तोल्सतोयले चुरोट सल्काए । बेचैनीमा बारम्बार कोठाको चक्कर लगाए । अनि सानो, तर गम्भीर आवाजमा भने, ‘तिमीले जे गर्‍यौ, त्यही गर्थें ।’ यति सुनेपछि अन्ना फेरि शब्दमै विलीन भई ।

Read the rest of this entry »

इच्छापत्र

November 1, 2022

अमृता प्रितम

(याे कविता पञ्जावी कवि अमृता प्रितमकाे । तर, यसकाे प्रत्येक भाव मेरै हृदय निचोरेर निस्केकाे छ । दुनियाँसामु मेरो पनि यही इच्छापत्र ।)

म आफ्नो पूर्ण होसमा

लेखिरहेकी छु इच्छापत्र ।

म मरेपछि

खोतल्नू मेराे कोठा

पल्टाउनू हरेक चिज

ताल्चाबिना घरभरि

छरिएका छन् मेरा सामान ।

दिनू मेरा सबै सपना,

ती स्त्रीजनलाई

जो चुलोचौकादेखि ओछ्यानसम्म

खुम्चिएका छन्

हराएका छन् अाफ्नै दुनियाँमा तिनीहरू

जसले वर्षैंअघि भुलिकेका छन् सपना देख्न ।

बाँडिदिनू मेराे हाँसो,

वृद्धाश्रमका ती बुढाहरूलाई

जसका बच्चाहरू बेपत्ता छन्

अमेरिकाकाका झिलिमिली सहरमा ।

टेबलमाथि हेर्नू,

केही रङ्गहरू होलान्

रङ्गाइदिनु तिनले विधवाको फरिया

जसको पतिको रगतले रङ्गिएको छ सिमाना

झन्डामा बेरिएर जो ढलेकाे छ हिजो राति ।

मेरो आँसु दिनू

ती सारा शायरहरूलाई

मेरो कसम !

जसको हरेक थोपाबाट

पैदा हुनेछ गजल ।

मेरो सम्मान, मेरो पवित्र अस्मिता

त्यो वेश्याको नाममा गरिदिनू

जो बेच्छे आफ्नो शरीर

छोरी पढाउनलाई ।

यो देशका एक एक युवालाई

कठालाे पक्रेर

लगाइदिनू इन्जेक्सन

मेरो आक्रोशको

जसको जरुरत पर्नेछ,

क्रान्तिका दिनमा तिनीहरूलाई ।

मेरो पागलपन

पर्नेछ सुफीहरूको भागमा

जो निस्किएका छन्

सबै छाडी ईश्वरको खोजीमा ।

बस् !

Read the rest of this entry »

‘प्रश्न’ विरुद्ध प्रश्न

April 8, 2022

उदय अधिकारीले छ जना लेखकसँग गरेको अन्तर्वार्ताको संकलन ‘प्रश्न’ले नयाँ पाठकलाई पर्याप्त सूचना र जानकारी दिन्छ । तर, त्यो एकरंगी, आधा र अधुरै लाग्छ । उनीहरूले रोज्ने किताब, प्रिय मानेका लेखक–कवि लगभग उही र उस्तै छन् ।

उदयलाई सुन्दा उनी मिसोजिनिस्ट (महिला–निन्दक) हुन् भन्ने लाग्दैन । होइनन् पनि होला, तर यसमा महिलालाई पूरै बहिस्कार गर्नुको कारणबारे उनी मुसमुसे मुद्रामा मौन छन् । त्यो आरोप त लाग्छ नै, अनि उनले आफूलाई कसरी बचाउलान् ? धन्य ! हाम्रा महिला लेखकहरूलाई उदय सर प्रिय नै लाग्दा रहेछन् । तिनले उदय सरसित जोरी खोजेको खासै देखिँदैन । सायद उदय तीमध्ये धेरैका आफ्नै प्रिय सर पनि हुँदा हुन् । प्रिय सरले गरेको अवहेलना पनि प्रिय नै हुँदो होला । नत्र यस्तो किताबप्रति तिनले जोरी खोज्नु नपर्ने कुनै कारणै छैन । किताबमा महिला र दलित दृष्टिकोण त गयल नै छ, आदिवासी–जनजातीय दृष्टिकोणको हालत पनि लगभग उस्तै छ ।

जोरी खोज्नुपर्नेहरूले नखोजेपछि अब मैले नै खोज्नुपर्ने भो । समीक्षा वा त्यस खालका ख्यासख्यासे लेखनमा मलाई कहिल्यै रुचि जागेन । यो लेखोट त्यही जोरी खोजाइ र अलोकप्रिय बन्ने जोखिमको परिणाम हो ।

अँ त, उदय सरले यस किताबमा किन महिलालाई पूरै बहिस्कार गरे ? किन करिब उस्तै जवाफ दिने खालका लेखकलाई मात्र भेला पारे ? यसबारे उनी कतै खुलाउँदैनन् । भूमिका पनि छैन, सिधै किताब अन्तर्वार्तामा प्रवेश गर्छ र केही धन्यवादका पात्रहरू उल्लेख गर्दै सकिन्छ । प्रस्ट छ, यो उनले विभिन्न पत्रिकाका लागि गरेका अन्तर्वार्ताहरूको निख्लो संकलन मात्र हो । तर, पुस्तकले त संकलन हैन, प्रतिनिधित्वको माग गर्छ । उनी भने जण्ड सामन्तझैँ ‘कुकुर भुक्दै गर्छ, हात्ती हिँड्दै गर्छ’ शैलीमा मौन बसेर सारा बदमासी तमाम गरिदिन्छन् ।

अहिलेका महत्त्वपूर्ण कवि–लेखक को हुन् भन्ने प्रश्नको मनसाय सामान्यतया सदैव बदनियतपूर्ण हुन्छ । महत्त्वपूर्ण लाग्ने कारणसहित सोधियो भने धेरै हदसम्म त्यसको क्षतिपूर्ति हुन सक्छ । तर, उदय सर कारण खोतल्न चाहँदैनन् । किनभने कसलाई यस्तो सोधियो भने कसले क–कसको नाम लिन्छ, त्यो उनलाई राम्ररी थाहा छ । यहाँ क–कसको नाम बारम्बार आइरहोस् भन्ने उनी चाहन्छन् भन्ने पनि खुल्दै जान्छ । जस्तो कि उनी श्रवण मुकारुङ र मनु मञ्जिललाई उही प्रश्न दोहो¥याएर सोध्छन् । त्यही प्रश्न नारायण ढकाल, श्यामल, सरुभक्त र अभि सुवेदीलाई सोध्दैनन् । स्वाभाविक छ, त्यस्तो प्रश्नमा सबैजसोको जबाफमा आफ्नै विचार सर्कलका र सम्पर्कमा आइरहनेकै नामहरू आउँछन् । त्यसैले भनेको, यस्तो चल्तीका प्रश्नको अन्तर्य सदैव गलत नै हुन्छ ।

उदयका प्रश्नहरू सामान्य र हद नाघेर अनौपचारिक छन् । सम्बोधनमा एकरूपता छैन । भूमिकामा अभि सर र सरुभक्तलाई उनी ‘तपाईं’ं भन्छन् । श्यामल र श्रवण मुकारुङलाई सुरुमा ‘तिमी’ र पछाडि ‘तँ’ । नारायण ढकाल र मनु मञ्जिललाई सुरुमा ‘तिमी’, पछाडि ‘तपाईं’ । अङ्ग्रेजी पढेका र अङ्ग्रेजी साहित्य पढाउने उदय सरबाट हुने सम्बोधनको यो अलोकतन्त्र प्रिय लाग्दैन । त्यो उनको नियत नभई असावधानी हुन सक्छ । यसको अर्थ हो, उनको लेखनलाई एक जना तीक्ष्ण नजरयुक्त सम्पादक जरुरी छ जसको अभाव यस किताबमा छर्लङ्गै देखिन्छ ।

उदयका सामान्य प्रश्नमा लेखकहरूले गम्भीर जवाफ दिएका छन् । त्यसले गर्दा यो किताब रोचक र जानकारीमूलक अवश्य भएको छ । यसले नेपाली र विश्व साहित्यका घटना एवं रूपरेखाबारे पाठकलाई एकसरो जानकारी दिन्छ । नारायण ढकाल, श्यामल, सरुभक्त र मनुले आफूलाई मन परेका नेपाली र विश्वका किताब अनि ती किताबबारे गरेको छोटो टिप्पणी किताबका सबैभन्दा रोचक पाटा हुन् ।

किताबको शीर्षक सारै सपाट छ । त्यसले किताबको अन्तर्यलाई प्रतिनिधित्व पनि गर्दैन । किताबको अन्तर्य त जबाफहरू नै हुन् । प्रश्न त निमित्त मात्र हुन् । निमित्त कुरालाई अन्तर्यझैँ गरेर शीर्षक बनाउँदा शीर्षकमा सिर्जनशीलता झल्किँदैन ।

मुख्य कुरा, अब कुनै कार्यक्रममा महिला, दलित वा जनजातिको प्रतिनिधित्व बहिस्कार गरिएको कार्यक्रमप्रति उदय सरले प्रश्न गर्ने नैतिक बल गुमाएका छन् । कि उनी त्यस्तो आवाज उठाउनुलाई नै निरर्थक ठान्छन् ?

–By Avaya Shrestha

Bekin, Tara win BSL Powerlifting title

December 25, 2021

By Satyakura

Bhaktapur, Dec 25

 Bekin Joshi and Tara Khaiju have clinched the title of the first BSL district-wide powerlifting competition here recently. Joshi and Khaiju represent Azima Fitness and Club Desperado respectively.

Joshi had beaten 46 competitors in the bodybuilding competition organised by Bhadgaon Sports and Leisure (BSL). He lifted a total of 565 kg in the competition. Out of the three events, Joshi lifted 135 kg in bench press, 210 kg in squat and 220 kg in deadlift. He is also the winner of the over 65 kg weight category. His body weight is 76.45 kg.

Similarly, Khaiju won the women’s title after beating 14 contestants. Tara, who was also the winner of the 55 kg weight category, lifted a total of 295 kg. She lifted 55 kg in bench press, 106 kg in squat and 134 kg in deadlift. She weighs 56.55 kg. Along with the title, Joshi and Khaiju received Rs 65,000 in cash.

The competition was organised in five weight groups with the technical assistance of Bhaktapur Physical Fitness Association. According to Surendra Bhele, coordinator of the event, the competition was held in the men’s 65 kg, over 65 kg and in the men’s master group over 45 years of age. On the women’s side, they competed in two weight groups of 55 kg and 55 kg. Each event of the competition held at Bhadgaon Sports and Leisure in Sipadol, Suryabinayak Municipality-8, Bhaktapur was played in three rounds. Sports Minister Maheshwar Jung Gahatraj distributed cash prizes along with shields, medals and certificates to the winners of the competition.

अभय श्रेष्ठका केही कविता

May 14, 2021

क्रान्तिको पाठशाला
अभय श्रेष्ठ

त्यो उदास युवतीलाई भेटेपछि
एकाएक मलाई बोध भयो–
चिल्लो गाताको सस्तो किताबजस्तै
व्यवस्था एक भव्य शौचालय हो ।

प्रेम र करुणा यो देशमा
दलित प्रेमीझैँ रगतपच्छे भएर
बगिरहेछन् भेरीको उर्लंदो भेलमा
न्याय धर्मभक्तको लासझैँ
झुन्डिरहेछ खरीको सुरिलो बोटमा
मन्द–मन्द खुसीको फूल फुलाउँदै
क्रूरता फरार कैदीझैँ
तरबार नचाउँदै दौडिरहेछ सडकमा ।

दीर्घ रोगीको हाँसोजस्तै
परिवर्तन यो देशमा भित्र केवल ढुसी हुने
कटुसको चिल्लो दाना हो ।

त्यो उदास युवतीलाई भेटेपछि
एकाएक मलाई अनुभूत भयो–
विद्रोहीको आक्रोशजस्तै
वेश्यावृत्ति एक विशाल प्रतिवाद हो ।

शब्दको भारले थिचिएको मृत कविताजस्तै
शान्ति चट्ट सिँगारिएको भव्य मसानघाट हो ।

मानवता– गुम्बाकै छेउमा बलात्कृत
भिक्षुणीको आर्तनाद हो ।

थाहा छ–
इमानबिना क्रान्ति हुँदैन
क्रान्ति– यो देशमा
दीर्घ रोगीको अतृप्त जवानी हो ।

शूर्पणखाको दण्डित प्रेमजस्तै
लोकतन्त्र भव्य प्रयोगशाला हो ।

दुःख छ
मुटु नै कटकटी खाने दुःख छ
दुःख, वेश्यावृत्ति र इमानबीच के साइनो छ कुन्नि !
त्यो उदास युवतीलाई भेटेपछि
मलाई अनुभूत भयो–
अविरल नदीजस्तै अपराजित युवती
क्रान्तिले भुलेको पहिलो पाठशाला हो ।


२. सन्देह

यी बादलका अनेक चित्रहरूले
कोरेका सुन्दर कोलाजमाथि सन्देह गर
पानीका सुन्दर तालमा देखिने
विविध रङको अस्तित्व
र बादलका टुक्राझैँ
तिम्रा हातमा पर्न आएको हिउँको सौन्दर्यमाथि सन्देह गर ।

अखबार र टेलिभिजनका सनसनीपूर्ण समाचार
कविका फूलबुट्टे सुकिला कविता
मनको एक कुनालाई धक्का दिने बुद्धिजीवीको विचार
र, देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधनमाथि सन्देह गर ।

तिम्रा सम्मानित गुरुले
मीठो भाषामा सुनाएका कथा
महान् इतिहासकारले लेखेको इतिहास
र, संसारका सर्वमान्य मूल्यहरूमाथि पनि सन्देह गर ।

पग्लँदै गएको हिउँजस्तो
युधिष्ठिरको सत्यनिष्ठा
र, अछुतो आकाशजस्तो
अर्जुनको वीरतामाथि सन्देह गर
देवव्रतको भीष्म प्रतिज्ञा
दुर्योधनको दुष्टता
अनि वेद र पुराणका तिलस्मी कथाहरूमाथि सन्देह गर ।

सुकरात, माक्र्स र गान्धी
डार्विन, फ्रायड र आइन्सटाइन हुन् तिम्रै सहयात्री
पवित्र बाइबल, रामायण, महाभारत
धम्मोपदेश, त्रिपिटक
र, कुरान नै होइनन् अन्तिम सत्य
न ब्रह्मा सत्य हो, न मिथ्या हो जगत
विष्णु, महेश्वर, श्रीराम
क्राइस्ट, कविर, मोहम्मद
र सन्देहको कुरा गर्ने बुद्धमाथि पनि सन्देह गर ।

आँगनजस्तो एकत्र संसारमा
छैन कोही सन्देहको घेराबाहिर
सन्देहको ईश्वर रच्ने
मेरो यही कवितामाथि पनि सन्देह गर ।

म अविरल गर्छु सन्देह आफ्नै ब्रह्ममाथि पनि
जसरी माटोले हरेकपटक गर्छ
आफ्नै गर्भमा रोपिएको सत्वीजको परीक्षा ।

…..

३. सत्यलाई साक्षी

अब सत्यलाई पनि
सत्य सावित हुन साक्षी चाहिन्छ
घामलाई घाम हुन
जूनलाई जून हुन
र, आकाशलाई आकाश हुन साक्षी चाहिन्छ ।

दूर क्षितिजबाट ओर्लिएको घामको उज्यालोसँगै
जिन्दगीको हरियालीको खोजीमा
हिँडिरहे कति मानिसहरू
तर, मेट्दै गए तिनले आफ्नै पाइतालाको छाप ।

अब कविताले मात्र
कोही कवि हुँदैन
अब कविलाई कवि हुन
गायकलाई गायक हुन
र, मान्छेलाई मान्छे हुन पनि साक्षी नै चाहिन्छ ।

थाहा छ– साक्षीले धेरैपल्ट फेरिदिएको छ सत्यको परिभाषा
साक्षीले धेरैपल्ट फेरिदिएको छ सत्यको रङ
साक्षीकै कारण धेरैपल्ट बन्दी भएको छ सत्य
अब सत्य नै साक्षीको खल्तीको रुमाल भएको छ ।

….

४. ‘अछुत’को प्रेमगीत

म छु वारि भीरमाथि,
डाँडाको बतासजस्तै पारि छ मेरो मुटु ।

जसरी पुरानो भित्तामा चल्छ
खिया लागेको पुरानो घडी
ठिक त्यसरी नै चल्छ
नयाँ संविधानमा सत्ताको रथ
त्यसरी नै तिम्रो नजरमा
म अझै
पिँढीभन्दा तल
करजोरी गरिरहने उही पुरानै अछुत हुन्छु ।

हार्नेहरूको वीरताझैँ मेटिन्छ
त्यहाँ मेरो आँसु, पसिना र रगतको इतिहास ।

म मान्दिनँ–
प्रेमको संसारमा वर्णको कुनै भित्ता हुन्छ
एक बारको अमूल्य जुनीकै जोखिममा
रोजेको हँु मैले एक ‘सवर्ण’ युवतीको प्यार
तर, हरेक पटक प्रेमको आलिङ्गनमा
मेरो कलेजाको मध्य भागमा रोपिन्छ जातको खन्जर ।

मान्छेको निर्दोष रगत र अक्षत प्रेमलाई
जिउँदै जल्न नदिन
अब त मसँगै छन्
वर्णको प्रदूषित हावा र प्रेमको निषेधमा
निःसासिएका सहस्र मानिस
प्रेमको पवित्र सौन्दर्यशास्त्रले पनि
भन्न सक्दैन मेरो पवित्र प्रेमलाई अपवित्र
यो देशको सर्वोच्च विधान
रगतले सिँचेको यो भूमि,
पसिनाका बुँद,
यो घाम, यी जूनतारा
बतास र रूखपातले पनि
युगमाथि तर्जनी औँला ठड्याइसके ।

तर, भोरको मन्द हावाझैँ मेरो हृदयमा नित्य ठोकिएको
प्रेमको जवाफमा
किन रोकिन्छ मलाई प्रेमनगरको प्रवेशद्वारमा ?

म प्रेमको अतुल गहिराइमा
बोल्छु मौन भाषा
त्यसलाई तिमी तरबारले थुन्छौ
जवाफमा वाचाल छ मेरो मौन
जलाएर धर्मशास्त्रका पाना र उद्धरणहरू
छाड्नु छ मैले यहाँ पवित्र प्रेमको डोब
दिनु छ युगलाई प्रेमको भाषामा
एउटा बाफिलो जबाफ
यो देश साझा फूलबारी हो भने
मत्स्यवेदको प्रवेशद्वारमा तोड्नु छ मैले निषेधाज्ञा ।

म पनि त चाहन्छु
यो दुःखी दुनियाँमा नचलोस् आँधीहुरी
मेरो पवित्र प्यारको आकाङ्क्षामा
नखलबलियोस् कुनै रूखको जरा
नलागोस् कुनै वनमा डँडेलो
तर, दुनियाँमा कैयन् यस्ता कुरा छन्
जसलाई नजलाए
यहाँ धेरैले जिउँदै जल्नुपर्छ ।

म छु वारि भीरमाथि
पिँजराको बुलबुलझैँ पारि छ मेरो माया ।

….

५. उत्तरदान

आमाको औँला समाएर
सैसैला खेल्दै गर्दा
म थिएँ कर्कलाको पातमा जमेको शीतजस्तै ।

जबसम्म आमा हुनुहुन्थ्यो
मेरो अघिपछि
क्रूरताहरू निषेधित थिए
तिनका विरुद्ध गर्नुभएको थियो आमाले प्रतिकार ।

र, एक दिन
घातु गाएर फर्केझैँ
काँगियो फूलको बोटमुनि
निर्लिप्त र चुपचाप उभिनुभएको थियो आमा
मलाई हेर्दै
बलिन्द्र धारा आँसु बहाएर ।

एक जुग बित्यो
त्यसपछि फर्कनु भएन आमा
कुनै अस्पतालबाट
कुनै धारा, पँधेरा र खोलाबाट
पत्करको भारी बोकेर कुनै जङ्गलबाट
अथवा तिलौरा र पुष्टकारी लिएर बजारबाट
फेरि कहिल्यै ।

भगस्तिपछि नवदुर्गाजस्तै
जब विलीन हुनुभयो आमा
काँगियो फूलको बोटमुनिको
मेरो साँगुरो संसारबाट एक्कासि
संसार क्रूरतापूर्वक ठिङ्ग उभियो मसामु
आँसु, रगत र अत्याचारले झुसी भएर ।

गोधूलीसँगै
बत्तिँदै आएको अन्धकारझैँ
आज तीस वर्षपछि पनि
मसामु उपस्थित छ क्रूरता
अनेक रूप धारण गरेर
कहिले त्यो मुनाफाखोर साहुजी भएर आउँछ
कहिले मान्छे किनबेच गर्ने बिचौलिया भएर आउँछ
कहिले सपना बिथोल्ने सर्प भएर फुङ्कार गर्छ ।

तिनको प्रतिकार गर्न
अब हुनुहुन्न आमा मसँग
तर, मसँग छ हरियो दुबोजस्तै आमाको मायालु सम्झना
बगेर कहिल्यै नसकिने नदीजस्तो साहस
इमान नगुमाएका मानिसहरू
अनि नजिकिँदै गरेको हरियाली खेतजस्तो सत्यको साथ ।

मैले लड्नु छ
हो, मैले लड्नु छ
संसारका सारा क्रूरताविरुद्ध
किनभने मैले मेरी आमाबाटै पाएको छु
त्यो उत्तरदान ।
…..

६. मुक्ति

१.
एउटै कविताका पृष्ठ र अक्षर–
हामी दुई !
तिम्रो हृदयको कारागारभित्र बन्दी रहुन्जेल
मेरो आकाङ्क्षाका चञ्चल चराहरू
उडिरहन्थे बेफिक्री आकाशमा
म थिएँ आफ्नै मर्जीको शीतल शीतल बतास
मुक्त भएर डुलिहिँड्थेँ
मनका शान्त तपोवनमा
यो जिन्दगी थियो एक सुवास ।

पूर्णिमाको जून र प्रकाश
देवालीको मुस्वां र सुगन्ध
हामी दुई !
जब तिमी उभिन्थ्यौ मसामु
हृदयको ढोका खोलेर
लहना स्वयं हुन्थ्यो लहलह
र, हावासरि फैलिन्थेँ म चारैतिर ।

एउटै आँखाका दुई परेला
दुई अक्षरका एकै शब्द
हामी दुई !
एक्कासि के भयो,
यो खुला संसारमा
ठडियो हामीबीच वर्णको विशाल भित्ता
जब अदक्ष प्रुफरिडरले शब्दका अक्षर छुट्ट्याएझैँ
छुट्टयायौ मलाई
तिमीले आफ्नो हृदयको कारागारबाट
त्यसपछि नै बन्दी भएको हुँ म
बिग्रेको धाराभित्र बन्द पानीजस्तै ।

२.
त्यसपछि नै यो हावाझैँ अनिवार्य भएको हो मेरो गति
र, उदासीको रातो खिया लागेको ताल्चा फोडेर
खोज्दै हिँडेको हुँ म
मुक्तिको नयाँ आकाश
किनभने जीवनको बास्ना स्वयं दुर्गन्धित थियो यहाँ
गलत थिए नजिरहरू
धर्मशास्त्रजस्तै गलत थियो इतिहास ।

मू स्वां ः मुख्य, मूल्यवान् फूल । नेवार सम्प्रदायको देवाली पूजामा अनिवार्य मानिने बास्नादार फूल ।
लहना ः सभ्यता

७. सहृदय वेश्याको प्रेममा

मैले उसलाई गरेको प्रेम
श्री ३ ले नानीहरूलाई जताएजस्तो अनुराग होइन ।

जस्तो कि तपाईँलाई थाहा छ–
मेरुदण्ड दान गर्ने दधिचिझैँ
यो देशको हरेक परिवर्तनमा
आफ्नो जवानीको
एक अंश दान गरेको
साधारण मानिस हुँ म
जिन्दगीका सहस्र घुच्चीका लेकहरूमा पनि
इमान र नैतिकता
सुरक्षित राखेको छु मैले आफ्नो मुटुजस्तै ।

तर, कहाँ के बिग्रियो ?
मेरै रगतले सिँचिएको यो देश आज
चाँदीका आँखा जडेर मलाई नदेखेझैँ गर्छ ।

त्यस्तो के भयो ?
झ्यालिन्चा र लाखेको लुकामारीजस्तो
यही परिवर्तन
छल गरेर मलाई आज बेग्लै आँखाले हेर्छ
सबभन्दा छिटो दौडेर
गन्तव्यमा सबभन्दा ढिलो पुग्ने धावकझैँ
म कहाँ अलमलिएँ ?
मलाई एक्ल्याएर
सबभन्दा बढी आनन्दित हुन्छन् आज मेरै सहयात्री ।

ज–जसलाई हृदय तप्काएर
प्रतिच्छायाँझैँ मैले प्रेम गरेँ
ज–जसलाई खोला तार्न
बुढो माझीझैँ मैले आफ्नो पिठ्युलाई पुल बनाएँ
ज–जसलाई विश्वास गरेर
करियाझैँ मैले आफूलाई फुटबलको मैदान बनाएँ
ज–जसलाई आदर्श मानेर
सूतपुत्रझैँ मैले तिनको लडाइँमा रगत दिएँ
तिनैले निमोठे मेरो गर्धन
तिनैले भाँचिदिए मेरा हातपाउ
उचालेर मेरो हृदयमा आत्महीनता
सु¥र्याए तिनैले मलाई आत्महत्या गर्न ।

आज किन यो देश उल्टो पिरामिडझैँ
उभिएको छ टाउकाले टेकेर ?

पक्कै पाटपूर्जा नमिलेको मेसिनझैँ
यो देशको स्वास्थ्यमा भइरहेछ ठूलै गडबडी
पक्कै यो परिवर्तनमा कहीँकतै केही नमिलेकै छ ।

र, आज काठमान्डुको फोक्सोमा थुप्रने फोहोरझैँ
मेरा वरिपरि
यति धेरै भङ्गालाहरू छन्
यति धेरै अन्यायहरू छन् कि
लाग्छ, तिनलाई पन्छाउन
अब एउटा सिस्टम ढल्नैपर्छ ।

जस्तो कि धेरै मान्छे
फुटेर झ¥यामझुरुम कसीझैँ
भएका छन् धरासायी
फाल हालेर निराशाको तलाउमा
भएका छन् कति खतरनाक हत्यारा
वा कति हिँडेका छन् आत्मघाती यात्रामा
धूपछायाँझैँ यस्तो अनिँदो आत्महीनताको वातावरणमा पनि
तपाईँले चाहेजस्तो फाल्न सक्दिनँ म हातखुट्टा
निर्जन वनमा एकलव्यझैँ
अझै सङ्घर्षमा छु म
किनभने मेरा रक्षाकवच हुन् नैतिकता र इमान ।

मान्छेलाई आत्मसम्मानसाथ
बाँच्न दिने कुनै कुरा छ भने
त्यो माकुराको ममताझैँ निष्पाप प्रेम हो
यस्तो अनिँदो आत्महीनताको वातावरणमा पनि
म बाँचेँ आत्मसम्मानसाथ
एउटी विद्रोही युवतीको
निःस्वार्थ प्रेममा
जो तपाईँको दृष्टिमा एउटी पतित वेश्या हो ।

(कुनै पनि युवती
त्यसै हुँदैनन् वेश्या
तपाईँ मान्नुस्, नमान्नुस्, हरेक वेश्या
अन्धो सत्ताको नाकमा प्रहार गर्ने
एक अनुपम विद्रोही हो ।)

तपाईँ आफै भन्नुस्,
इमानको यस्तो खतरनाक मसानघाटमा
एउटी सहृदय वेश्यालाई छाडेर
तपाईँ कसलाई भेट्नुहुन्छ प्रेमको सत्पात्र ?

एउटी सहृदय वेश्याको प्रेममा परेर
म सोच्दैछु–
जुन विन्दुमा विघटित हुन्छ इमान
त्यही विन्दुमा धसिन्छ क्रान्तिको रथ ।

जहाँ हरेक स्वाभिमानी मान्छे
अपमानित छ सूतपुत्र कर्णजस्तै
जहाँ हरेक सही मान्छे
खतरामा छ मूपात्रजस्तै,
ए सुन, मेरो देशका महान् स्वप्नद्रष्टा,
जिन्दगीमा कहिल्यै बेइमान नभएको एउटा युवक,
एक सहृदय वेश्यासँगको
प्रेमको विन्दुबाटै
गर्न चाहन्छ सम्बन्धहरूको विनिर्माण
हो, त्यही विन्दुबाटै
गर्न चाहन्छ सहस्र क्षेप्यास्त्रहरूको सञ्चय
र, ढाल्न चाहन्छ
मकाएको काठझैँ त्यहाँ चलिरहेको एउटा व्यवस्था ।
……………

राप्रउ मेरा अभिन्न मित्र

December 13, 2020

मदनमणि दीक्षित




रामजीप्रसाद उपाध्यायसित मेरो परोक्ष परिचय म संवत् २०१३ सालमा वीरगन्जबाट काठमाडौँ बसाइँ सरेर मैले २०१४ सालमा ‘दैनिक हालखबर’मा काम गर्न थाल्दादेखि भएको हो । संवत् २०१८ सम्ममा मैले उहाँलाई जनकपुरमा ‘समीक्षा’को वितरण गर्ने र ‘समीक्षा’को प्रमुख संवाददाताको परिचयपत्र पठाएको पनि म सम्झिन्छु । त्यस क्रममा उहाँले जनकपुरबाट समीक्षालाई बरोबर समाचारहरू पठाउने गर्नुहुन्थ्यो । तैपनि जनकपुरको सिनेमा हलमा एउटा साधारण दुर्घटना उहाँसित पहिलेदेखि र समीक्षामा पठाएका समाचारबाट असन्तुष्ट रहेका जनकपुर प्रहरीले उहाँलाई पक्राउ ग¥यो । त्यसबेला प्रहरीले कसैलाई पक्राउ गर्न कारण खोलेर पुर्जी लेख्नुपर्ने आजको जस्तो संवैधानिक व्यवस्था थिएन– दलविहीन पञ्चायत प्रजातन्त्र थियो त्यो व्यवस्था । तर चार दिनपछि फेरि कुनै कागज नदिई र कारण नखोली प्रहरीले उहाँलाई हिरासतबाट छोड्यो ।

उहाँमा प्रशस्त जानकारी छन् । अध्ययनबारे राप्रउ पोखरेलमा यो गाम्भीर्य छ भने अर्कोतिर उहाँले नेपाल राष्ट्र बैङ्क, निर्वाचन आयोग, पर्यटन विभाग आदि गरी ७, ८ वटा सरकारी विभागमा काम गरिसक्नु भएको छ । हाल उहाँ अवकास प्राप्त हुनुहुन्छ ।
रामजी पोखरेलमा एउटा सद्गुण छ जो सामान्यतया अरू मानिसहरू उहाँको दुर्गुण ठान्छन् । उहाँमा आफ्नो मनमा लागेका कुरा, ती राम्रा नराम्रा जे हुन् सामुन्नेको मानिससित सम्बन्धित छ भने पनि प्रस्ट र सत्य बोल्ने बानी छ । उहाँको यस बानीले गर्दा यदाकदा म पनि रुष्ट हुन्छु । तर तुरुन्तै आफूलाई तर्क दिएर सन्तुष्ट पार्छु ।
केही पाठकले कालजयी कृति ठानेका मेरो ‘माधवी’ भन्ने उपन्यासको लेखन र समापनलाई आद्योपान्त सुन्ने पहिलो व्यक्ति उहाँ नै हो । ती ५, ६ वर्षबीच मैले आफ्ना आँखाबाट अश्रुधार बगाउँदै आफ्नो कृतिबारे उहाँलाई सुनाउने गर्थें । वास्तवमा भन्ने हो भने ‘माधवी’को लेखननिम्ति अर्थात् महाभारतमा रहेको त्यो सङ्क्षिप्त कथा रोज्नुको पछाडि रामजीकै सहायता रहेको थियो भन्ने मैले स्वीकार गर्नैपर्छ ।

संवत् २०३४ मङ्सिरतिर म महाभारत पढ्दै थिएँ । संवत् ०३२ मा मेरो पत्रिकामा प्रतिबन्ध लागेपछि त्यो अन्यायविरुद्ध मैले त्यसबेला देशका प्रधानमन्त्री, मन्त्रीहरू, श्री ५ वीरेन्द्रका संवाद सचिव आदि धेरैसित पत्रिका खोलिदिन अनुरोध गर्दा पनि म सफल भएको थिइनँ । डा. तुलसी गिरि र चिरनशमशेर थापाले मलाई ‘सटल कक’ बनाए, मन्त्री रवीन्द्रनाथ शर्माले मैले तिनीलाई झन्डै गाली गरेजस्तै पत्र राजा वीरेन्द्रमा लेख्न मलाई सल्लाह दिए । अर्थात् मबाट गाली गराएर राजासामु आपूm राम्रो मन्त्री बन्ने तिनले प्रयास गरेका थिए जो काम म गर्न चाहन्नथेँ । किनभने मैले गाली गर्नुको अर्थ राजाले तिनलाई राम्रो मन्त्री ठान्न सक्ने विचार ममा त्यसबेला थियो ।

त्यस्तैमा २०३४ को मङ्सिरमा मैले ‘महाराज, तिम्रो पञ्चायत प्रजातन्त्रको रूप यही हो’ भन्ने देखाउन राजदरबारको दक्षिण ढोका अगाडि उभिएर आत्मदाह गर्ने निर्णय गरेको थिएँ । तर त्यो दिन ममा प्रश्न उठ्यो, ‘समीक्षामाथि प्रतिबन्ध लगाउने अपराधकर्ता राधाप्रसाद घिमिरे र प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल हुन् भने मैले आफूलाई दोषी ठानेर आत्मदाह किन गर्ने ? बरु म ‘समीक्षा’भन्दा माथिल्लो कृति लेखेर ‘तिमीहरू मेरो अखबार खोस्न सक्छौ तर मेरो कलम खोस्न सक्दैनौँ भन्ने देखाउन नेपाली साहित्यको सकेसम्म उपल्लो स्तरको कृति लेखेर म तिमीहरूलाई देखाउने छु’ भन्ने निर्णय गरेर आत्मदाहको बाटो छोडेँ । तिनताका म १०, १२ दिनदेखि रोजै महाभारत पढ्दै थिएँ । मैले महाभारतमा रहेको नल–दमयन्तीको कथालाई उपन्यासका रूपमा प्रस्तुत गर्ने निर्णय गरेको थिएँ । सौभाग्यवस उपन्यास लेख्ने दिन रामजीप्रसाद उपाध्याय पोखरेल सदाझैँ मलाई भेट्न आउनुभयो । मैले नल–दमयन्तीको कथा लेख्नेबारे विचार प्रकट गर्दा उहाँले ‘त्योभन्दा पनि उद्योग पर्वमा रहेको माधवी र गालबको कथा लेख्नुहोस् । नल–दमयन्तीको कथामा भन्दा माधवी–गालबको कथामा पुरातात्त्विक र सामाजिक, आर्थिक, सांस्कृतिक कारकहरू प्रस्तुत गर्न तपाईंलाई गाह्रो हुँदैन’ भन्नुभयो । मेरो चित्त बुझ्यो । यो दिउँसोको कुरा थियो । एक घण्टापछि राप्रउ जानुभयो । साँझमा ४ बजे मैले माधवी लेख्न थालेँ ।
त्यो लेखन प्रक्रिया चल्दै जाँदा प्रस्तावित पुस्तकलाई पाठकहरूले समाजशास्त्र, वैदिक इतिहास अथवा उपन्यास ठान्छन् कि के भन्नेबारे ममा प्रबल द्विविधा उत्पन्न भयो । राप्रउसित सो विषयमा वार्ता हुने गर्थे । उहाँले नै एक दिन मलाई सल्लाह दिनुभयो र नेपालका ख्याति प्राप्त ७, ८ जना विद्वान्हरूलाई बोलाएर यस समस्याबारे केही नभनी तर कृतिहरू सुनाऊ भनी सल्लाह दिनुभयो ।

त्यसै गरियो । मेरो कोठामा मैले बोलाएका विद्वान्हरूमा मैले पछि गएर विश्वकवि भनेका केदारमान व्यथितका साथै जगदीश घिमिरे, शक्ति लम्साल, राप्रउ पोखरेल, रोचक घिमिरे आदि ८, ९ जना थिए । सभा बस्नेभन्दा पहिले राप्रउ र मेराबीच पाण्डुलिपिमध्ये कुन चाहिँ अंश आज सुनाउनु बेस होला भन्ने छलफल भयो । राप्रउले कासीमा बिरामी पर्दा र त्यो समयमा माधवीमा प्रकट भएको उत्सर्ग भावको अंश सुनाउनु बेस हुनेछ भन्ने राय प्रकट गर्नुभयो । मैले भनेँ– ‘यस कृतिमा मैले उत्तम ठानेको अंश किन सुनाउने ? त्यस्तै मैले नराम्रो ठानेको अंश किन रोज्ने ? बरु आज बिहान लेखेका २२ पृष्ठ आजको सभामा सुनाउँछु’ । त्यसै गरियो । सबै जनाले ‘निकै नै राम्रो’ भन्नुभयो । कवि व्यथितले समेत निकै राम्रो भन्नुभयो । तथापि ‘यस कृतिमा आघात हाल्नुपर्छ, त्यो गर्नु बेस होला’ भनी बङ्गलादेशका ‘कैजर’ भन्नेले लेखेका ‘समुद्र किनारको माझी’ नामक उपन्यासमा त्यो माझी मरणासन्न अवस्थामा पुगेको घटनातिर उहाँले सङ्केत गर्नुभयो ।

मैले ती बङ्गलादेशी लेखकको उपन्यास पढेकै थिइनँ । तर ठीक त्यस्तै अवस्थामा गालब बिरामी भएर माधवी क्षुब्ध भई स्तनपान गराएकी घटनालाई आफ्नो कल्पनाको आधारमा झन्डै १० दिन अगाडि लेखिसकेको थिएँ । आफ्नो कोठामा मैले सुनाएको अंश आज ‘माधवी’मा थपिएको छैन ।
मेरा यी अनुभवमाथि विचार गर्दा राप्रउमा उपन्यास लेख्ने मात्र होइन उपल्लो दर्जाको उपन्यास तयार पार्ने क्षमता छ भन्नेमा म विश्वस्त छु । उहाँले पनि मैले उहाँसित लिएर पढेका ‘अज्ञेय’को ‘नदी के द्वीप’ तथा बङ्गाली उपन्यासकारले दुई मोटा मोटा भागमा लेखेका ‘गण देवता’ जस्ता कृतिहरू पढेर आत्मसात गर्नुभएको छ । मैले यहाँ हिन्दीका दुईवटा पुस्तकको नाम लिनुको अर्थ उहाँको जानकारी र शिल्पमा कमी छ भन्ने देखाउन होइन । हाल उहाँ अवकाश प्राप्त हुनुहुन्छ । अतः उहाँलाई फुर्सत पनि छ । उहाँले निर्णय गर्नुभयो भने सफल हुनुहुनेछ भन्ने विश्वास ममा छ ।

जीवनमा सुखदुःख, आनन्द, पीडा, दुर्घटना र सुखद् अवसर आइरहन्छन् । संसारको कोही पनि त्यो द्वन्द्वबाट मुक्त छैनन् । राप्रउमा समेत ती द्वन्द्व छन् भन्ने म सहज अनुमान गर्छु । उहाँ र म रक्सी खानेमा अभ्यस्त थियौँ । हो, मैले कैयौँ पटक उहाँलाई रक्सी खाएर दुर्घटनाको किनारामा उभिएको पनि देखेको छु ।
मैले हेर्दा आफ्नो परिवारलाई राप्रउले सकेसम्म राम्रो व्यवहार गर्नुभएको छ । चार छोरी थिए जसमध्ये हाल केही विदेशमा छन् । आफ्ना सन्तानप्रति तिनका पिताको भन्दा पनि तिनका इमानदार सल्लाहदाता मित्रको व्यवहार उहाँबाट हुनेगरेको मैले अनुभव गरेको छु ।

यता केही समयदेखि अर्थात भनौँ वर्ष दिनदेखि हाम्रो भेटघाटमा मेरोतर्फबाट कमी आए जस्तो अनुभव भइरहेछ । पहिले म उहाँको घरसम्म पैदल यात्रा गर्थें तर अचेल शरीरमा उमेरको कारणले शिथिलता बढेको हुँदा धेरैजसो म घरैमा बस्छु । तथापि महिनामा एक वा दुई पटक हामी दुईबीच भेटघाट अवश्य हुन्छ ।
जनजागृति सांस्कृतिक क्लब महोत्तरीले राप्रउ पोखरेलबारे सामयिक सङ्कलन लेख्न अनुरोध गरेकोमा यति लेखियो । त्यो क्लबलाई यसका निम्ति म हार्दिक धन्यवाद दिन्छु । राप्रउबारे मेरो एउटै गुनासो छ । उहाँले सार्वजनिक कामहरू गर्नुभएको आधिकारिक निकायहरूबारे मैले उल्लेख गरिसकेँ । ती कतिपय निकायमा हेरफेर गरिरहनु एउटै निकायमा स्थिर रहनु त्यस्ता कर्मचारी वा अधिकृत निम्ति सबै प्रकारले लाभदायी हुनसक्थ्यो । उहाँमा त्यो स्थिरता मैले पाइनँ ।
…..
२६ कार्तिक २०६५

(मङ्सिर २०७७ को मधुपर्कबाट)

एक क्षत्रीय पुरुषको बकपत्र

November 9, 2020

बन्धुविक्रम क्षत्री

Bandhu Bikram Chhetri


प्रेम र विवाह विरलै योजनाअनुसार हुन्छ । अझ प्रेम त योजनाअनुसार हुने कुरै होइन । मैले पनि अन्तरजातीय विवाह गर्छु भन्ने कुनै योजना बनाएको थिइनँ । तर, भयो अन्तरजातीय नै । म खस क्षेत्री । उहाँ दलित । वर्ण व्यवस्थाअनुसार क्षत्री ब्राह्मणपछिको दर्जामा पर्छ भने दलित सबैभन्दा तल । अझ दलितलाई त वर्ण व्यवस्थामा आधारित समाजले अछुत नै बनाइदिन्छ ।


सानैदेखि नै विद्यार्थी सङ्गठनमार्फत राजनीतिक आन्दोलनमा आबद्ध थिएँ । कम्युनिस्ट राजनीतिमा लागेका कारण ममा जातपात, छुवाछूत, विभेद, शोषण र उत्पीडनविरोधी भावना थियो । मानिस सबै समान हुन्छन्, उँचनिच भन्ने कुरा मानिसले मानिसमाथि शोषण गर्न समाजमा लादेको हो भन्ने विचार निर्माण हुन थाल्यो । मैले जोसँग विवाह गरँे, उहाँ पनि म आबद्ध सङ्गठनमै काम गर्नुहुन्थ्यो । सङ्गठनात्मक कामहरूकै सिलसिलामा नवलपरासी जिल्लाको सुनवल नपा–१३ स्थित बडेरा निवासी समीक्षा विकसँग भेट भएको हो । उहाँ स्थानीय एक विद्यालयमा शिक्षक हुनुहुन्थ्यो । चिनजान भएपछि सामाजिक सञ्जालमा जोडियौँ । बिस्तारै नियमितजस्तो कुरा हुन थाल्यो । हामीबीच वैचारिक र राजनीतिक कुराहरू नै बढी हुन्थे । घर परिवारबाट विवाहका प्रस्ताव सँगसँगै दबाब पनि आइरहेका थिए । आफू राजनीतिक क्षेत्रमै क्रियाशील तथा स्थापित हुन चाहेका कारण कम्तीमा पनि राजनीतिलाई सकारात्मक रूपमा बुझ्ने र शतप्रतिशत सहयोग नभए पनि अवरोध नगर्ने जीवनसाथी होस् भन्ने मेरो चाहना थियो । घर, परिवारबाट भने राजनीतिले जीवन चल्दैन भन्दै दीर्घकालीन जागिर गरेर जीविका चलाउन दबाब आइरहन्थ्यो । कहिलेकाहीँ मनमुटावसमेत हुन्थ्यो ।

हामीबीच निरन्तर कुराकानी हुन गयो । राजनीतिक कुराकानी नै बढी हुन्थ्यो । हामी आफूले समेत धेरथोर रगत पसिना बगाएको आन्दोलन प्रतिक्रान्तिमा फेरिएर आँखै अगाडि क्षतविक्षत भइरहेको थियो । क्रान्तिनायकहरू खलनायकमा बदलिएर तीव्र वेगमा पतनको दिशातिर गइरहेका थिए । यसले दुवै जनालाई निराश र विह्वल बनाउँथ्यो ।

कुराकानी सँगसँगै घनिष्टता बढ्दै गयो । हाम्रा सोच विचारहरू मिल्थे भने विवाहका लागि दबाब उहाँलाई पनि बढ्दै थियो । बिस्तारै ममा हाम्रो निकट सम्बन्धलाई वैवाहिक सम्बन्धमा पु¥याउने विचार आयो । तर, हामीबीच तगारो भएर खडा थियो, वर्ण व्यवस्थाको पर्खाल । पारिवारिक तथा सामाजिक स्वीकृतिविरुद्ध पर्खाल बनेको थियो, उच्च जातीय अहम् सिर्जित भेदभाव र उँचनिचको मानसिकता ।

मैले अन्तरजातीय विवाह अझ गैरदलित र दलितबीच विवाहपछिका चुनौतीहरूबारे सोचेँ । जात नमिलेकै कारण विवाहबाट पछाडि हट्ने कि नहट्ने भन्नेमा मेरो मन दोमन भयो । उच्चजातीय अहङ्कारवादी मानसिकताका कारण उत्पन्न हुन सक्ने पारिवारिक तथा सामाजिक अस्वीकृतिबाट डराएर आफ्नो सोचअनुरूप सम्बन्ध तोड्नु मैले मेरो सिद्धान्त, विचार र आदर्शको घाँटी निमोठ्नु हुन्थ्यो जो म सपनामा पनि चिताउन सक्दिनँथेँ । त्यसपछि हामीले घर परिवारमा छलफल गर्ने निधो ग¥यौँ ।

म उहाँको घरमा कुरा गर्न गएँ । मेरो साथमा मेरो परिवारका कोही जान मान्नुभएन । मेरा सहृदय एवम् अनन्य मित्रहरू प्रेम दर्नाल (राजनीतिकर्मी) र कवि मणि काफ्लेसहित म उहाँको घरमा पुगेँ । उहाँको आमाबुबासँग भेट भयो । अन्तरजातीय विवाहपछि जबरजस्ती छुटाइदिने, चरम मानसिक तथा शारीरिक हिंसा झेल्नुपर्नेदेखि हत्यासम्मका घटनाहरू हुने गरेका परिप्रेक्ष्यमा उहाँहरू झस्किनुभयो । अन्ततः उहाँहरू विवाहका लागि राजी हुनुभयो र सकेसम्म परिवारका सदस्यहरूलाई सहभागी गराउन अनुरोध गर्नुभयो ।

ती साथीहरूसहित म आफ्नो घर दोलखा गएँ । पहिला बुबालाई दिदी (फुपू) को घर (चरिकोट) मा बोलाएँ । बुबा र दिदी सबै कुरा उत्साहपूर्वक सुनिरहनुभएको थियो । जब जातको कुरा आयो, उहाँहरू छाँगाबाट खसेझैँ हुनुभयो । अघिको उत्साहको तातोमा एकाएक चिसो पानी खन्याएझैँ भयो । जब कि, मेरो घर परिवारमा लामो समयदेखि कम्युनिस्ट वा वामपन्थी राजनीतिको प्रभाव छ । मेरो बुबा र सानोबुबा युवावस्थादेखि हालसम्म पनि सक्रिय राजनीतिमै हुनुहुन्छ । बुबा एमाले, माले हुँदै माओवादी आन्दोलनमा जोडिन पुग्नुभयो भने सानोबुबा एमालेमै रहेर ०५४ सालमा गाविस अध्यक्ष हुँदै अहिले दोलखा जिल्लाको प्रभावशाली नेता हुनुहुन्छ । यही परिवारिक परिवेशले नै मलाई कम्युनिस्ट आन्दोलनमा लाग्न प्रेरित गरेको थियो ।

‘तैँले यो विवाह गरिस् भने आमा फाल हालेर मर्छे,’ बुबाले भन्नुभयो । त्यसपछि म घर गएँ र आमालाई निर्णय सुनाएँ । पहिलो पटक यही कारण आमाको आँखामा आँसु टिल्पिलाएको देख्दा मन थाम्न हम्मे प¥यो । पार्टीका कयौँ दलित साथीहरू घरमा आउने, जाने गर्र्दा आमाले कहिल्यै अप्ठ्यारो मान्नुभएन । तर, जब घरमा दलितकी छोरीलाई बुहारी स्वीकार्नुपर्ने भयो तब जात व्यवस्थाले प्रशिक्षित गरेको अन्तरहृदय ग्लानि र क्षोभले ग्रसित भएर आँखाबाट बर्सिन पुग्यो । कनिकुुथी बाह्रखरी मात्र सिक्न भ्याएकी मेरी आमाको सन्दर्भमा त्यो स्वाभाविक पनि थियो । त्यसभन्दा बढी त्यो आँसुमा उच्चजातीय अहङ्कारद्वारा ग्रसित समाजले पानी बाहेक गरिदिन्छ, त्यसपछि के–के झेल्नुपर्छ भन्ने अज्ञात भय प्रकट भएको थियो ।


मेरो बुबा र सानोबुबाले सहर्ष स्वीकार गरेको भए परिवार तथा आफन्त सबैले स्वीकार्ने स्थिति हुन सक्थ्यो । समाजलाई पनि स्वीकार्न दबाब पुग्ने थियो । तर, त्यसो भएन ।
म काठमाण्डौँ फर्किएँ । घरमा चाहिँ जसरी पनि छुटाउनुपर्छ भन्ने निधो भएछ । मलाई असाध्यै माया गर्ने मेरी दिदी (फुपू) र सानोबुबाले यो विवाह नगर्न धेरै नै दबाब दिनुभयो । सानोबुबाले यो विवाह छ महिना पनि नटिक्ने चेतावनी दिनुभयो । मैले कुनै अपराध त गरेको होइन नि भन्दा दिदीले ‘मान्छे मार्नेभन्दा पनि ठूलो अपराध गरिस्’ भन्नुभयो ।


आमाबाट छुटिनु, सबै आफन्त र समाजबाट अलिगिएर एक्लो हुनु कति मुस्किल कुरा थियो ! यो सानो जोखिम थिएन । त्यसो भन्दैमा हाम्रा नेताले झैँ म कसरी आफ्नो आदर्शको हत्या गर्न सक्थेँ ? सारा जोखिम मोलेर पनि मैले समीक्षाजीसँग बिहे गर्ने निर्णय गरेँ ।


विवाहपछिको दसैँमा घरबाट मलाई मात्र आउनू भनेर खबर आयो । मैले मुटुमाथि ढुङ्गा राखेर ‘आए दुवै जना आउँछौँ, नभए एक्लै आउँदिनँ’ भनेँ । त्यसयता चाडपर्व तथा विवाह, व्रतबन्धमा मलाई बोलाइँदैन । घर परिवार तथा आफन्तहरूसँग कुनै पनि संवाद भएको छैन । घरतिरको हालखबर भने भाइहरूमार्फत लिने गर्छु ।


आमालाई सम्झँदा कहिलेकाहीँ त मुटु नै फुट्लाझैँ हुन्छ । तर, म घर जान सक्दिनँ । आफ्नो निर्णयप्रति मलाई पश्चात्ताप वा गुनासो भने रतिभर छैन । किनकि, म हरेक चुनौतीको सामना गर्न मानसिक रूपमा तयार थिएँ ।


माओवादी आन्दोलनको बेला अन्तरजातीय विवाहहरू धेरै नै हुन्थे । त्यसबखत अन्तरजातीय विवाहलाई प्रोत्साहन गरिन्थ्यो । आन्दोलनले निर्माण गरेको सौन्दर्य मूल्य, वैचारिक प्रतिबद्धता एवं सामाजिक परिवर्तनको अभिलाषा प्रोत्साहनका लागि महत्ववपूर्ण तत्वहरू थिए । समयक्रममा आन्दोलन ओरालो लाग्दै गयो, सौन्दर्य चेत फेरिँदै गयो, मूल्य विघटित हुँदै गयो र वैचारिक प्रतिबद्धता क्रमशः फिक्का बन्दै गयो । अन्तरजातीय विवाहहरू क्रमिक रूपमा विघटित हुन थाले । ती विवाहहरूको विघटनले प्रतिक्रान्तिको सङ्केत गर्थे ।


अन्तरजातीय प्रेम र विवाहकै कारण मानिसहरू हिंसाको सिकार भइरहनु परेको छ । पछिल्ला दिनहरूमा जातीय विभेद, छुवाछूत तथा हिंसाका घटनाहरू झनै बढिरहेका छन् । उच्च जातीय अहङ्कारजन्य घृणाको उत्कर्ष केही महिनाअघि रूकुममा नरसंहारकारी घटनाको रूपमा प्रकट भयो । यो सिलसिला अहिले पनि रोकिएको छैन ।


मेरो एउटा सपना छ, जतिसक्दो चाँडो यो जात व्यवस्थाको अन्त्य होस् । मैले त सारा जोखिम मोलेँ । सबैले यो जोखिम मोल्न सक्दैनन् । यो जात व्यवस्था दलितका लागि सबैभन्दा बढी पीडादायी छ । तर, त्यसको असरबाट ब्राह्मण र क्षत्रीजस्ता वर्ण व्यवस्थाका उच्च जात समेत मुक्त छैन । यो व्यवस्था नहुँदो हो त आफ्नो मनप्राण गाँसिएकी कुनै युवती दलित भएकै कारण ब्राह्मण, क्षत्री, वैश्य युवकले बिहे गर्न नसक्ने र ब्राह्मण, क्षत्री, वैश्य युवतीले दलित प्रेमीसँग विवाह गर्न नपाउने स्थिति आउने थिएन ।

Read the rest of this entry »

‘ह्याउँगु स्वां हाकुगु हि’ सार्वजनिक

October 18, 2020


सत्य कुरा
कात्तिक २ गते । कवि नवीनप्रकाश श्रेष्ठको नेपालभाषा कविता सङ्ग्रह ूह्याउँगु स्वां हाकुगु हिू सार्वजनिक भएको छ । बागमती प्रदेश सभाका सांसद राजेन्द्रमान श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र कविकी माता लक्ष्मीकेशरी श्रेष्ठले मध्यपुर थिमिमा उक्त कृति विमोचन गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सांसद श्रेष्ठले कविताले जातीय उत्पीडन र भाषिक अधिकारको स्वर प्रखर स्वरमा उठाएको उल्लेख गर्नुभयो । मध्यपुर थिमि नगरपालिकाका प्रमुख श्रेष्ठले नेपालभाषामा प्रकाशित पुस्तकले मध्यपुर थिमिमा भाषिक संरक्षण र साहित्यिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय अभिलेखालयका निमित्त महानिर्देशक सौभाग्य प्रधानाङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुस्तकबारे प्राज्ञ धु्रव मधिकर्मी, प्रीति श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
थातथलो, भाषा र देशलाई समर्पण गरिएको पुस्तकमा तीस कविता छन् ।

जातव्यवस्था अन्त्य नै दलित साहित्यको वैचारिकी –आहुति

October 14, 2020
चिन्तक आहुति


कवि, उपन्यासकार, संस्कृति चिन्तक तथा माक्र्सवादी बौद्धिक आहुति विसं २०४० को दशकदेखि नेपालको प्रगतिवादी साहित्य र कम्युनिस्ट राजनीतिमा समानान्तर रूपमा सक्रिय हुनुहुन्छ । उहाँका ‘तपस्वीका गीतहरू’ र ‘गहुँगोरो अफ्रिका’ दुई कविता सङ्ग्रह, ‘नयाँ घर’ र ‘स्खलन’ दुई उपन्यास प्रकाशित छन् । ‘नेपालमा वर्णव्यवस्था र वर्ग सङ्घर्ष’ समाजशास्त्रीय पुस्तक र ‘दलन’ टेलिशृंखला पनि उहाँका प्रभावशाली रचना हुन् । उहाँको ‘गहुँगोरो अफ्रिका’ कविता नेपाली प्रगतिवादी काव्यवृत्तमा दलित मुक्तिचेतना र दलित सौन्दर्यदृष्टिलाई सर्वाधिक मुखर स्वर दिने रचना मानिन्छ । हाल वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय संयोजक रहनुभएका आहुतिले विगत तीन दशकदेखि नेपाली कम्युनिस्ट राजनीति, नेपाली समाज तथा संस्कृति, दलित मुक्ति आन्दोलन र साहित्य तथा सौन्दर्यचिन्तनका क्षेत्रमा निरन्तर बौद्धिक हस्तक्षेप गर्दै आउनुभएको छ । मूलधारका नेपाली पत्रिका, अनलाइन माध्यम र सार्वजनिक प्रवचनहरूमार्फत तिख्खर सामयिक राजनीतिक विश्लेषण समेत गर्दै आउनुभएका आहुतिका थुप्रै वैचारिक निबन्ध तथा अन्तर्वार्ताहरू पनि विभिन्न पुस्तक, पत्रिका र संकलनहरूमा फुटकर रूपमा प्रकाशित छन् । प्रस्तुत छ, नेपालमा दलित साहित्यको विमर्श, दलित साहित्य चिन्तन, दलित सौन्दर्यशास्त्रलगायत विषयमा मधुपर्कका लागि आहुतिसँग कवि तथा पत्रकार सङ्गीतले गरेको कुराकानी –

Read the rest of this entry »